कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु

डिसी नेपाल
१८ वैशाख २०७८ १०:४०
116
Shares

कञ्चनपुर। कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ। दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए। यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ।

यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ।

ताप्लेजुङमा कोरोना सङ्क्रमितको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो। बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए। मृतकको आज परिवारका सदस्यले दाहसंस्कार गर्ने भएका छन्। दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका चार जनालाई पिपिइ उपलब्ध गराइने प्रजिअ पाण्डेले बताए।

सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। यसले थप सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.