इजरायल–हमास युद्धमा रुस र टर्की पनि थपिए, इजरायललाई ‘पाठ सिकाउने’ विषयमा छलफल

डिसी नेपाल
३० वैशाख २०७८ १३:४२
11.0k
Shares

काठमाडौं। अल अक्सा मस्जिदमा झडप भएपछि इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धलाई लिएर विश्वभरका मुस्लिम देशहरुमा हलचल सुरु भएको छ । मुस्लिम देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) पनि सक्रिय भएको छ । यसका सदस्य देशहरुले यस विषयमा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय बैठक बोलाउनका लागि पाकिस्तान, टर्की र साउदी अरबको प्रस्तावलाई मन्जुरी दिएको छ ।

यही बीचमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई पाठ सिकाउने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका छन् । एर्दोगानले पुटिनसँगको छलफलमा प्यालेस्टाइनीहरुमाथि आक्रमणको विषयमा इजरायललाई कडा पाठ सिकाइनुपर्ने आवश्यकता भएको बताएको अल जजीराले जनाएको छ । टर्कीको राष्ट्रपति संचार निर्देशनालयका अनुसार जेरुसेलममा सुरु भएको तनावका विषयमा दुई नेताले बुधबार फोनमा कुरा गरेका थिए । जारी बयानका अनुसार एर्दोगानले इजरायललाई अन्तर्राष्ट्रिय समुदायले कडा पाठ सिकाउनुपर्नेमा जोड दिए ।

टर्कीका राष्ट्रपति एर्दोगानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा तत्काल हस्तषेप गर्नुपर्ने र इजरायललाई प्रस्ट सन्देश दिनुपर्नेमा जोड दिए । एर्दोगानले पुटिनलाई प्यालेस्टाइनीको सुरक्षाको लागि एक अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथ गर्ने विषयमा पनि विचार गर्न सुझाव दिए । टर्कीका राष्ट्रपति एर्दोगानले यस विषयमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि फोनमा कुरा गरेका थिए । छलफलमा दुवै नेताले रमजानको पवित्र महिनामा जेरुसेलमको अल अक्सा मस्जिदमा नमाजीमाथि भएको आक्रमण जघन्य अपराध भएको ठहर गरे ।

इजरायलले प्यालेस्टाइनीहरुमाथि आक्रमण गरेपछि टर्कीका जनतामा आक्रोश देखिएको छ । कोरोनाभाइरस कर्फ्यु हुँदाहुँदै पनि इस्तानबुलमा हजारौं मानिस सडकमा उत्रिएर इजरायलविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा इस्तानबुलमा हजारौंको समूह टर्की र प्यालेस्टाइनको झण्डा बोकेर इजरायली वाणिज्य दुतावास पुगेका थिए । इजरायल र प्यालेस्टाइनबीच भएको युद्धमा अहिलेसम्म ७२ जनाको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.