इजरायल र प्यालेस्टाइन नामका देश बन्नुभन्दा पुरानो संघर्षमा अहिलेसम्म कहिले के भयो ?
काठमाडौं। इजरायल र प्यालेस्टाइन बीच सोमबारदेखि सुरु भएको संघर्ष तत्काल रोकिनेजस्तो देखिएको छैन । यो संघर्षमा १२० जनाको मृत्यु भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यसरी प्यालेस्टाइनतर्फ मारिनेमा ठूलो संख्यामा बालबालिका र महिला पनि छन् । हमासले गरेको आक्रमणका इजरायलतर्फ पनि ८ जनाको ज्यान भएको छ । यही बीच अमेरिकाले दुवै देशलाई संघर्ष रोक्न अपिल गरेको छ ।
इजरायल र प्यालेस्टाइनबीचको यो विवाद जति पुरानो छ उत्तिकै जटिल पनि छ । यो संघर्ष अहिले युद्धरत दुई देश इजरायल र प्यालेस्टाइनको अस्तित्वभन्दा पनि पुरानो छ । अर्थात यी दुई देशभन्दा यी दुई देशबीचको विवाद पुरानो हो ।
पहिलो विश्वयुद्धमा बेलायतले आटोमानलाई जितेको थियो । त्यसपछि १९१७ मा बेलायतले एउटा घोषणा गर्यो जसमा बेलायतले आफू प्यालेस्टाइनलाई युहुदीहरुको मातृभूमि बनाउन प्रतिबद्ध भएको बताएको थियो । यो घोषणालाई बाल्फोर डिक्लेरेसन भनिन्छ ।
१९४५ सम्म यो क्षेत्र बेलायतको नियन्त्रणमा रह्यो । यस क्रममा युरोपका अलग अलग देशबाट यहुदीहरु यहाँ आएर बस्न थाले । यस क्रममा प्यालेस्टाइनी र यहुदीहरुबीच संघर्ष भइरह्यो । बेलायतमाथि यहुदीहरुलाई पुनर्बास गराउनको लागि दबाब बढिरह्यो । दोसे विश्वयुद्धपछि बेलायतले यो मामिला संयुक्त राष्ट्रसंघलाई सुम्पियो ।
१९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई २ भागमा विभाजन गरिदियो । एउटा अरब देश प्यालेस्टाइन बन्यो र अर्को इजरायल बन्यो । जेरुसेलमलाई अन्तर्राष्ट्रिय सरकारको नियन्त्रणमा राखियो । अहिलेसम्म जारी विवादको एउटा ठूलो कारण यही जेरुसेलम सहर पनि हो ।
१९४८ मा इजरायलले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गर्यो । त्यसको भोलिपल्टै अरब देशहरुले इजरायलमाथि आक्रमण गरे । यो युद्ध करिब १५ महिनासम्म चल्यो । १९४९ मा एक सन्धिसँगै युद्ध समाप्त भयो । इजरायलले युद्ध जित्यो । यससँगै करिब ७ लाख प्यालेस्टाइनी शरणार्थी बने ।
१९५४ मा इजिप्टले स्वेज नहरलाई राष्ट्रियकरण गरेर इजरायलका जहाजहरुलाई आवतजावतमा प्रतिबन्ध लगायो । यही कारण १९५६ मा अरब सेना र इजरायलबीच युद्ध भयो । इजरायलले गाजा पट्टी र इजिप्टको सिनाइ क्षेत्रमा कब्जा गर्यो ।
१९६४ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन बन्यो । यसबीच अरब देशहरु र इजरायलका बीचमा विभिन्न विषयलाई लिएर संघर्ष भइरह्यो । संघर्षले १९६७ मा युद्धको रुप लियो । ७ दिनसम्म चलेको यो युद्धमा अरब देशहरुलाई जन, धन र जमिनको नोक्सानी भयो । इजरायलले वेस्ट बैंक, गोलन हाइट्स र पूर्वी जेरुसेलमलाई आफ्नो नियन्त्रणमा लियो ।
१९७२ मा म्युनिक ओलम्पिकमा इजरायली खेलाडीहरुमाथि प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनका ८ जना आतंकवादीहरुले आक्रमण गरे । ११ जना इजरायली खेलाडीहरुलाई बन्धक बनाएर उनीहरुको हत्या गरियो ।
१९८७ मा प्यालेस्टाइनको तर्फबाट पहिलो इन्तिफादा (विरोध प्रदर्शन र साना संघर्ष) सुरु गरियो । यस क्रममा इजरायल र प्यालेस्टाइनबीच भयंकर र हिंस्रक झडपहरु पनि भए । १९९३ मा नर्वेको ओस्लोमा सम्झौता भएसँगै यो संघर्ष केही कम भयो ।
२००२ मा एक आत्मघाती आक्रमणको साथमा दोस्रो इन्तिफादाको सुरुवात भयो ।यो २००५ सम्म चलेको मानिन्छ । यही वर्ष इजरायलले गाजाबाट सेनाको नियन्त्रण अन्त्य गर्यो । तर, हवाइ मार्ग, जल मार्ग र सीमामा इजरायली सेनाको नियन्त्रण जारी रह्यो । २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिए । यद्यपि अन्तर्राष्ट्रिय समुदायले यसको समर्थन गर्दैनन् ।







डिसी नेपाल








Facebook Comment