अफिसकी एउटी कर्मचारीलाई मात्रै पिज्जा नखुवाउने हाकिमले ३८ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्यो
काठमाडौं। सामान्यतया कार्यालयमा मालिकको तर्फबाट कर्मचारीलाई केही खुवाउने कार्यक्रम बन्यो भने सबै कर्मचारीहरुलाई सहभागी गराइन्छ । कुनै कर्मचारी त्यो दिन अनुपस्थित छन् भने त्यो छुट्टै कुरा हो । त्यसमाथि कतिपय अवस्थामा अनुपस्थित कर्मचारीलाई पनि घरमै पठाइदिने पनि गरिन्छ । तर, अफिसमै भएकी एक कर्मचारीलाई पिज्जा खुवाउने क्रममा छुटाउने एक हाकिमले ३८ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको छ । अफिसकी रिसेप्सनिस्टले आफूलाई बाहेक गरिएको भन्दै मुद्दा हालिदिएपछि अदालतले ती कर्मचारीलाई यति ठूलो रकम क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।
घटना बेलायतको हो । डेली मिररको एक रिपोर्टअनुसार एक कार डिलरसिप कम्पनीले हरेक महिना आफ्ना सबै कर्मचारीलाई दिउँसो केही खानेकुरा बाँड्ने गर्थ्यो । त्यस दिन पनि मालिकले सबै कर्मचारीलाई पिज्जा बाँडे तर अफिसकी रिसेप्सनिस्टलाई छुटाए । ती रिसेप्सनिस्टले यसबारे थाहा पाएपछि आफूलाई भेदभाव गरिएको भन्दै अदालतमा मुद्दा हालिदिइन् । यो कम्पनीमा हरेक महिना कर्मचारीलाई खाना खुवाउने चलन थियो । यसरी खाना खुवाउँदा सामान्यतया पिज्जा, माछा, चिप्स लगायत बाँडिन्थ्यो ।
त्यस दिन पिज्जा बाँड्ने क्रममा माल्गोर्जाता लेविका नामकी कर्मचारीलाई छुटाइयो । लेविकाका अनुसार उनलाई अफिसमा हरेक पार्टीमा छुटाइन्थ्यो । उनको दावीअनुसार उनलाई लैंगिक भेदभावका कारण छुटाइएको थियो । लेविकाको उजुरीपछि अदालतले उनलाई क्षतिपूर्तिस्वरुप २३ हजार पाउण्ड दिन आदेश दियो । कम्पनीले लेविका पार्ट टाइम कर्मचारी भएको र उनको समय दिउँसो १ बजे सकिने भएकोले उनलाई छुटाइएको तर्क गरेको थियो । तर, अदालतले कम्पनीको यो तर्क अस्वीकार गरेको छ ।







डिसी नेपाल








Facebook Comment