इजरायली प्रधानमन्त्रीले गाजामा आक्रमण जारी राख्छौं भनेपछि अमेरिकी राष्ट्रपतिले के भने ?

डिसी नेपाल
२ जेठ २०७८ १०:५३
19.1k
Shares

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल र प्यालेस्टाइनबीच तनाब बढ्नुको जिम्मेवार हमास भएको आरोप लगाएका छन् । उनले शनिबार जबसम्म आवश्यक हुन्छ तबसम्म इजरायलले गाजामा आक्रमण जारी राख्ने बताए । उनले आफ्ना नागरिकको ज्यान खतरामा नपरोस् भन्ने पूरा कोसिस गरिने बताए । उनले यसलाई आतंकविरुद्धको युद्ध भएको बताए । राष्ट्रिय टेलिभिजनमा देशलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शनिबार नै अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन् । जनवरीमा बौयेड राष्ट्रपति भएपछि अब्बाससँग यो उनको पहिलो कुराकानी हो । शनिबार नै गाजा सहरमा विद्युत आपूर्ति रोकियो । इजरायलतर्फबाट लगातार आक्रमण भएपछि विद्युत रोकिएको थियो । अहिलेसम्म यो संघर्षमा १२६ जना मारिइसकेका छन् । मारिनेमा ३१ जना बालबालिका छन् । ९५० भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेमा ९ जना इजरायलतर्फका हुन् अरु सबै प्यालेस्टाइनी हुन् ।

संघर्ष चर्किएसँगै अमेरिकी राष्ट्रपति बाइडेनले प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग इजरायलमा रकेट आक्रमण रोक्न आग्रह गर्दै विकसित परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । ह्वाइट हाउसका अनुसार बाइडेनले प्यालेस्टाइनीहरुको गरिमा, सुरक्षा र उनीहरुलाई आथिृक लाभ लिन सक्षम बनाउने विषयमा आफ्नो समर्थन रहेको बताए । प्यालेस्टाइनीहरुको आर्थिक र मानवीय हितलाई अगाडि राख्दै फेरि सहयोग गर्नेमा उनले जोड दिए । सहयोगमा वेस्ट ब्यांक र गाजाका प्यालेस्टाइनीलाई पनि सहभागी बनाइने उनले बताए । वेस्ट ब्यांक र जेरुसेलममा जारी तनावका विषयमा कुरा गर्दै बाइडेनले जेरुसेलममा सबै धर्म र पृष्ठभूमिका मानिसहरुको लागि शान्ति स्थापना गर्ने इच्छा व्यक्त गरे ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गर्दै बाइडेनले हमास र अन्य आतंकवादी संगठनबाट भइरहेको आक्रमणमा इजरायलले आफ्नो रक्षा गर्ने अधिकारको समर्थन गरे । उनले यी आक्रमणको निन्दा गर्दै इजरायलमा पत्रकारको सुरक्षा र त्यहाँ जारी घरेलु हिंसाबारे पनि चिन्ता व्यक्त गरे । इजरायलले गाजामा एक आवासीय भवनमा आक्रमण गरेर त्यसलाई ध्वस्त पारेको छ । हमासको राजनैतिक ब्युरोको कार्यालय रहेको त्यो भवनमा समाचार एजेन्सी एसोसिएट प्रेस र अन्तर्राष्ट्रिय मिडिया अल जजीराको कार्यालय समेत थिए । मिडियाका कार्यालय पनि ध्वस्त भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.