अमेरिका ‘अन्तर्राष्ट्रिय न्याय’विरुद्ध उभिँदा इजरायल–प्यालेस्टाइन युद्ध चर्किएको चीनको आरोप
काठमाडौं। चीनले इजरायल र प्यालेस्टाइनबीच जारी संघर्षमा युद्धबिराम गर्ने प्रयासमा अमेरिकाले अवरोध गरेको आरोप लगाएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले शनिबार मध्यपूर्वमा जारी द्वन्द्वमा चीनको आधिकारिक धारणा राख्दै अमेरिकाले शान्ति स्थापनामा अवरोध गरेको आरोप लगाएका हुन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्टअनुसार यीले अहिले जारी द्वन्द्वलाई रोकेर शान्ति प्रक्रिया अगाडि बढाउन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद जिम्मेवार हुने बताएका छन् । सुरक्षा परिषदको मे महिनाको अध्यक्ष भएको हैसियतले चीनले प्यालेस्टाइन–इजरायल द्वन्द्वको विषयमा २ पटकसम्म सुरक्षा परिषदको आकस्मिक छलफल राखेको उनले बताए । उनले चीनले सुरक्षा परिषदलाई यो द्वन्द्व समाधानतर्फ उन्मुख गराउन चीनले एक प्रेस वक्तव्यको ड्राफ्ट पनि तयार पारेको खुलासा गरेका छन् ।
चीनले शान्ति प्रक्रियाको लागि तयारी गरेको भए पनि अमेरिका अन्तर्राष्ट्रिय न्यायको विपक्षमा भइदिँदा सुरक्षा परिषदमा कुनै पनि सहमति हुन नसकेको बताएका छन् । शनिबार पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैसीसँगको टेलिफोन वार्तामा यीले सुरक्षा परिषदमा मध्यपूर्वमा शान्ति प्रक्रियाका लागि गरिने भनिएका कामहरु लागू हुन नसकेको बताए ।
प्यालेस्टाइनको छुट्टै स्वतन्त्र देश बनाउने अधिकार उल्लंघन गरिएको बताउँदै उनले प्यालेस्टाइनीको समस्या सम्बोधन नहुँदासम्म मध्यपूर्वमै शान्ति नहुने बताए । यीले आइतबार चीनले सुरक्षा परिषदमा इजरायल र प्यालेस्टाइनका विषयमा खुला बहस गराउने बताउँदै सबै पक्षले यो समस्याका विषयमा साझा धारणा बनाउने अपेक्षा व्यक्त गरे ।







डिसी नेपाल








Facebook Comment