कोरोनाबारे भारत सरकारको रणनीति तयार गर्ने प्रमुख वैज्ञानिकले राजीनामा दिए
काठमाडौं। भारतका एक शीर्ष वैज्ञानिकले पदबाट राजीनामा दिएका छन् । भारत सरकारको सार्स कोभिड जिनोम कन्सोर्सियमको वैज्ञानिक सल्लाहकार मण्डलका प्रमुख भाइरोलोजिस्ट डा. शाहिद जमिलले पदबाट राजीनामा दिएका हुन् । उनले समाचार एजेन्सी रोयटर्सलाई आफूले पदबाट राजीनामा दिएकोबारे जानकारी दिएका छन् । बरिष्ठ भाइरोलोजिस्ट डा. जमिलले केही दिन पहिले भारतका अधिकारीहरुले भाइरसका विषयमा प्राप्त प्रमाणहरुलाई बेवास्ता गरेको आरोप लगाएका थिए ।
वैज्ञानिक डा. जमिलले आफ्नो राजीनामाको कारण खुलाएका छैनन् तर केही दिनअघि उनीसहितका वैज्ञानिकहरुले भारत सरकारले आफूहरुको भाइरससम्बन्धी चेतावनीलाई बेवास्ता गरेको आरोप लगाएको पृष्ठभूमिमा उनलाई काम गर्न सहज वातावरण नभएकाले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । डा. जमिलले केही दिनअघि न्यूयोर्क टाइम्समा एक लेख समेत लेखेका थिए । यो लेखमा डा. जमिलले आफूहरुले भारतमा वैज्ञानिक प्रमाणको आधारमा नीति बनाउन सरकारबाट असहयोगको सामना गर्नु परिरहेको र सरकारी निकायले आफूहरुले फेला पारेको वैज्ञानिक प्रमाणलाई बेवास्ता गरेको आरोप लगाएका थिए ।
लेखमा उनले भारतको कोभिड व्यवस्थापनमा समस्या भएको बताउँदै भारतमा कम परीक्षण, सुस्त गतिमा खोप अभियान र भ्याक्सिनको कमी जस्ता समस्या भएको बताएका थिए । उनले भारतमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति पनि धेरै चाहिने बताएका थिए । यी उपायका विषयमा आफूले सहकर्मी वैज्ञानिकबाट साथ र समर्थन पाएको भए पनि तथ्यका आधारमा नीति बनाउने विषयमा सरकारको अटेरी व्यवहारको सामना गर्नुपरेको बताएका थिए ।
३० अप्रिलमा ८ सयभन्दा धेरै भारतीय वैज्ञानिकले प्रधानमन्त्रीसँग आफूहरुलाई कोभिड–१९ सम्बन्धी तथ्यांक उपलब्ध गराउन अपिल गरेका थिए । उनीहरुले यो तथ्यांकको आधारमा आफूहरुले भाइरसबारे थप अध्ययन गर्न सक्ने बताएका थिए । रिपोर्टका अनुसार डा. जमिलले गएको मार्च महिनामै भारतमा नयाँ र धेरै संक्रामक भाइरस फैलिइरहेको चेतावनी दिएका थिए । यो बी.१.६१७ भेरिएन्टकै कारण भारतमा दोस्रो भयानक लहर फैलिएको थियो ।







डिसी नेपाल








Facebook Comment