इजरायल र प्यालेस्टाइनको नाममा अरु देशको मोर्चाबन्दी, मध्यपूर्वबाहिर युद्ध फैलिने त्रास

डिसी नेपाल
३ जेठ २०७८ १६:२९
22.4k
Shares

काठमाडौं। इजरायल र प्यालेस्टाइनको संघर्ष अझै भयानक रुपमा बढ्ने आशंका गहिरिएको छ । टर्कीले प्यालेस्टाइनको समर्थनमा आवाज उठाउँदै इजरायलविरुद्ध सबै मुस्लिम देश एकजुट भएर जवाफ दिनुपर्ने बताएको छ । यसले इजरायल र प्यालेस्टाइनबीचको यो संघर्षमा विश्वका अन्य देशहरुको दुई खेमामा मोर्चाबन्दी हुन सक्ने त्रास बढेको छ ।

अमेरिकाले एक पटक फेरि इजरायलको हवाइ आक्रमणलाई जायज करार दिँदै इजरायलसँग आफ्नो रक्षा गर्ने अधिकार भएको बताएको छ । अर्कोतर्फ आइतबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकबाट इजरायल र प्यालेस्टाइनलाई युद्धबिरामको आदेश दिने संयुक्त निर्णय अमेरिकाले रोकेको छ । यसलाई चीनले अमेरिका ‘अन्तर्राष्ट्रिय न्याय’ विरुद्ध उभिएको टिप्पणी गर्दै कडा आलोचना गरेको छ । रुसले पनि प्यालेस्टाइनको समर्थन गरेको छ । अमेरिका, बेलायत र फ्रान्स भने इजरायलको समर्थनमा आएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विश्वका ५७ इस्लामिक देशको संगठन इस्लामिक सहयोग संगठन (ओआइसी) ले इजरायलसँग तत्काल गाजामा आक्रमण रोक्न अपिल गरेको छ । यो संगठनको आपतकालीन बैठक आइतबार बोलाइएको थियो । बैठकमा थुप्रै देशका विदेश मन्त्रीहरु सहभागी थिए । बैठकमा पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको हिस्सा बताउँदै यसलाई प्यालेस्टाइनको राजधानी पनि बताइयो । बैठकमा टर्कीले आक्रामक रुपमा इजरायलविरुद्ध इस्लामिक देशहरु एकजुट हुनुपर्ने बतायो । उसले अन्तर्राष्ट्रिय कानुनले आफूहरुको साथ नदिने भएकोले यसमा विश्वास नगर्न अपिल पनि गर्यो ।

इजरायल र प्यालेस्टाइनबीचको संघर्ष दोस्रो हप्तामा प्रवेश गरेको छ । यो अवधिमा २ सयभन्दा धेरै मारिइसकेका छन् । ओआइसीले इजरायलले गरेका आक्रमणलाई क्रुरतापूर्ण कार्यवाही भनेको छ । ओआइसीको भर्चुअल बैठकमा इजरायलले पवित्र शहर जेरुसेलमबाट प्यालेस्टाइनीहरुलाई भगाउने कारवाहीलाई कडा शब्दमा निन्दा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.