भारतमा चुनावमा खटिएका १६ सय शिक्षकहरुको कोरोनाका कारण मृत्य

डिसी नेपाल
३ जेठ २०७८ २२:१७
804
Shares

काठमाडौं। भारतमा कोरोना महामारीका समयमा भएको चुनावमा खटिएका १६ सयभन्दा धेरै शिक्षकहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तरप्रदेशमा हालै सम्पन्न ग्राम पञ्च्यात चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उत्तर प्रदेश प्राथमिक शिक्षक संघले सोमबार कोरोनाबाट मृत्यु भएका शिक्षकहरुको सूची जारी गरेको हो। यसअघि संघले ७ सय शिक्षकको मृत्यु भएको सूची जारी गरेको थियो। संघले जारी गरेको पछिल्लो सूचीअनुसार कोरोनाका कारण ज्यान गुमाउने शिक्षकहरुको संख्या बढिरहेको छ। संघले चुनावका क्रममा उत्तपरप्रदेशका सबै ७५ जिल्लामा खटिएका शिक्षकहरुको मृत्यु भएको छ। संघले ड्युटीमा खटिएका शिक्षकहरुको कोरोनाका कारण मृत्यु भएको भन्दै उनीहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।

चुनावका क्रममा कोरोनाबाट संक्रमित भएर ज्यान गुमाउने शिक्षकहरुको संख्या आजमगढमा सबैभन्दा धेरै रहेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार आजमगढमा ६८ जना शिक्षकको कोरोनाका कारण मृत्यु भएको छ।

भारतमा कोरोनाको दोस्रो लहर जारी रहँदा उत्तरप्रदेशमा ग्राम पञ्च्यातको चुनाव भइरहेको थियो। चुनावमा खटिएका कर्मचारीहरुको कोरोना कारण मृत्यु भइरहेको भन्दै मतगणनाका क्रममै विवाद भएको थियो। तर, भारत सरकारले यो विषयमा केही बोलेको छैन।

भारतमा कोरोना महामारीले स्थिति भयावह हुँदा पनि विभिन्न राज्यहरुका विधानसभाको चुनावसमेत भयो। र उत्तराञ्चलको हरिद्वारमा कुम्भ मेलासमेत आयोजना गरियो। जसले गर्दा भारतमा कोरोना तिब्ररुपमा फैलिएको विशेषज्ञहरुले बताउँदै आएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोसमेत आलोचना हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.