इजरायल–हमास युद्धको सजाय निर्दोष प्यालेस्टाइनीलाई, ११ लाख जनताको खानेपानी बन्द
काठमाडौं। इजरायल र प्यालेस्टाइनी संगठन हमासबीच संघर्ष दोस्रो हप्तामा चलिरहेको छ । यो संघर्षको नकारात्मक असर दुवै पक्षमा परेको छ तर सबैभन्दा पीडित गाजापट्टीका निर्दोष प्यालेस्टाइनी जनता भएका छन् । हमासको नियन्त्रण रहेको गाजा पट्टीको स्थिति निकै दयनीय भइसकेको छ ।
गाजा पट्टीको जनसंख्या करिब २१ लाख छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार यीमध्ये ११ लाख जनताको खानेपानी, शौचालय, विद्युत जस्ता आधारभूत आवश्यकता अवरुद्ध भइसकेका छन् । इजरायलले गरेको लगातार बम आक्रमणले यी सबै ध्वस्त भइसकेका छन् । संघर्षमा अहिलेसम्म २२० जनाको मृत्यु भएको छ । यीमध्ये १२ जना मात्र इजरायलतर्फका हुन् अरु सबै प्यालेस्टाइनी हुन् । यीमध्ये एक जना इजरायली सैनिक हुन् ।
गाजा सहरमा ७ वर्ष पहिले खानेपानी, फोहरमैला व्यवस्थापन र व्यवस्थित विद्युतीकरण गरिएको थियो । यसका लागि संयुक्त राष्ट्रसंघले पनि सहयोग गरेको थियो । अहिले यो पूरै संरचना ध्वस्त भइसकेको छ । एउटा पानी फिल्टर गर्ने प्लान्ट त २ लाख ५० हजार जनतालाई पानी वितरण गर्ने एउटै प्लान्ट थियो । इजरायली बम आक्रमणमा यो नष्ट भइसकेको छ । सहरको धेरैजसो भागमा पाइपलाइनबाट घरघरमा पानी पुर्याइन्थ्यो । यो पाइपलाइन ध्वस्त भइसकेको छ । करिब ११ लाख जनतासँग अहिले पिउने पानी छैन ।
यही हाल विद्युतको छ । गाजा सहरमा विद्युत आपूर्तिको चेन पनि ध्वस्त भइसकेको छ । भयानक गर्मीका कारण यहाँका जनताको हालत झनै कठिन बनेको छ । एक अनुमान अनुसार १२ लाख जनतासँग अहिले विद्युत छैन । यहाँका विद्यालयहरु केही ध्वस्त भइसकेका छन् र बचेकाहरु लगातार बम आक्रमणका कारण बन्द छन् । ६ लाख बालबालिका घरमा थुनिएका छन् । ४० हजार जनतालाई शरणार्थी शिविरमा राखिएको छ ।
गाजा सहरमा केवल एउटा मात्र कोभिड परीक्षण प्रयोगशाला थियो । इजरायली बम आक्रमणपछि यो पनि भग्नावशेषमा परिणत भइसकेको छ । यो अवस्था त्यतिबेला भएको छ जतिबेला लेबनान र गाजामा संक्रमण तीब्र रुपमा फैलिइरहेको छ ।
केही अस्पताल अहिलेसम्म आक्रमणबाट बचेका छन् तर यहाँ मेडिकल उपकरण र सामग्रीको आपूर्ति हुन सकेको छैन । अक्सिजन प्यान्टले निकै मुस्किलले काम गरिरहेको छ । अन्य मेडिकल उपकरण र औषधिहरु बम आक्रमणका कारण आपूर्ति हुन सकेका छैनन् । ६ अस्पताल र ७ क्लिनिक भग्नावशेषमा परिणत भइसकेका छन् ।
इजरायली सेनाका प्रवक्ता जनरल हैदी जिल्वरम्यानले सैनिक रेडियोसँग कुरा गर्दै भने ‘हामी आफ्नो अपरेशन त्यतिबेलासम्म बन्द गर्दैनौं जबसम्म आतंकवादी संगठन हमासलाई पूर्ण रुपमा ध्वस्त पार्दैनौं । यदि इजरायलमाथि आक्रमण भयो भने उसले यसको जवाफ आफ्नो तरिकाले दिनेछ र तपाइँहरु अहिले यही देख्दै हुनुहुन्छ ।’
अर्कोतर्फ आफ्ना नागरिकलाई खतरामा पारेको हमास पनि झुक्न तयार छैन । उसले एक बयानमा भनेको छ ‘इजरायली एयरफोर्स घर र जनताको आवश्यकताका स्थानहरुलाई निशाना बनाइरहेको छ । हामी पनि इजरायलमाथि रकेट हानिरहनेछौं ।’
इजरायललाई पहिले नै यो जानकारी भइसकेको थियो कि हमासले कंक्रिटका सुरुङ बनाएको छ र रकेट हानेपछि हमासका लडाकु यी सुरुङमा लुक्छन् । त्यसैले इजरायलले यी सुरुङलाई निशाना बनायो । उसले धेरै हदसम्म सफलता पनि पायो । यदि यो संघर्षमा दुवै पक्षको तुलना गर्ने हो भने ९० प्रतिशत नोक्सानी हमासलाई भएको छ ।
२०१४ को सिजफायरपछि गाजा र प्यालेस्टाइन फेरि उठ्ने कोसिस गरिरहेको थियो । धेरै हदसम्म सफलता पनि पाएको थियो तर अब ऊ १० वर्ष पछाडि पुगेको छ । हमासले २००६ मा गाजामा नियन्त्रण गरेको थियो । विशेषज्ञका अनुसार त्यतिबेलादेखि उसले केवल युद्धको मात्रै तयारी गरिरहेको थियो ।







डिसी नेपाल








Facebook Comment