हिजोसम्म शोककाकुल प्यालेस्टाइनमा आज खुसीयाली, बाजा बजाएर उत्सव र आतिसबाजी

डिसी नेपाल
७ जेठ २०७८ १५:३६
23.9k
Shares

काठमाडौं। हिजोसम्म शोकमा डुबेको प्यालेस्टाइनमा आज खुसीयाली र उत्सव छ । हजारौं प्यालेस्टाइनीहरुले गाजा र वेस्ट ब्यांक क्षेत्रमा ढोल नगाडा बजाएर उत्सव मनाएका छन् । उनीहरुले खुसीयालीमा आतिसबाजी समेत गरेका छन् । ११ दिनसम्म इजरायल र प्यालेस्टाइनबीच चलेको संघर्ष रोक्न युद्धबिरामको सहमति भएपछि यो उत्सव मनाइएको हो । गएराती स्थानीय समयअनुसार करिब मध्यरातमा युद्धबिरामको सहमति भएको थियो ।

युद्धबिरामको औपचारिक घोषणा आज हुने बताइएको छ । इजरायल सरकार र हमास दुवैतर्फबाट यसको पुष्टि भएको छ । सिजफायरको प्रस्ताव इजिप्टले ल्याएको थियो जसमा प्यालेस्टाइनको सरकार पनि सहमत छ । अल जजीराका अनुसार हमासपछि प्यालेस्टाइनमा सबैभन्दा शक्तिशाली संगठन इस्लामिक जिहादले पनि युद्धबिरामको निर्णयमा सहमति जनाएको छ । यो सिजफायरलाई हमासले आफ्नो जीत मानिरहेको छ । प्यालेस्टाइनको गाजा पट्टीमा हमासका लडाकूहरुले ढोल नगाडा बजाएर उत्सव मनाएका छन् । वेस्ट ब्यांकमा अबेर रातीसम्म आतिसबाजी भइरह्यो ।

हमासको राजनैतिक विंगमा दोस्रो दर्जाका नेता खलील अल हायाले भने ‘जनताले उत्सव मनाउनु गलत होइन । यो जीतको खुसी हो ।’ खलीलले इजरायलको आक्रमणमा ध्वस्त भएका घरहरु फेरि बनाउने काम छिटै सुरु गरिने बताए । संघर्षको ११ दिनसम्ममा गाजा पट्टीबाट करिब १ लाख २० हजार मानिस पलायन भइसकेको अनुमान छ । यो संघर्षमा अहिलेसम्म २३२ जनाको मृत्यु भइसकेको छ । यीमध्ये ६५ जना बालबालिकाहरु हुन् । संघर्षमा १९ सयभन्दा धेरै घाइते भएका छन् । सबैभन्दा धेरै जनधनको क्षति गाजा पट्टीमा भएको छ ।

सिजफायरको पुष्टि गर्दै इजरायलले एक बयान जारी गरेको छ । बयानमा भनिएको छ ‘सुरक्षा मामिलामा क्याबिनेटको बैठक बस्यो । यसमा चीफ अफ डिफेन्स स्टाफ, इन्टरनल सेक्युरिटी चिफ र खुफिया एजेन्सी मोसादका प्रमुख सहभागी थिए । यसमा इजिप्टको त्यो प्रस्तावमाथि विचार विमर्श भयो जसमा हमाससँग जारी संघर्ष रोक्न अफर दिइएको थियो । सिजफायरको लागि कुनै शर्त राखिएको छैन । यसमा दुवै पक्ष सहमत छौं । सिजफायर शुक्रबारबाट सुरु हुनेछ । यसको समयको बारेमा पछि जानकारी दिइनेछ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिजफायरको स्वागत गरेका छन् । उनले भने ‘११ दिनसम्म चलेको संघर्ष रोकिएकोमा खुसी लागेको छ । युद्ध रोक्न इजिप्ट र कतारको योगदान सराहनीय छ ।’ गुटेर्रेसले संघर्षमा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई युद्धमा ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माणको लागि साथमा आउन अपिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.