युद्धबिरामपछि अहिले गाजामा के भइरहेको छ ?
काठमाडौं। इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच चलेको संघर्ष अन्ततः ११ दिनपछि रोकिएको छ । ११ दिनसम्म करिब अढाइ सय जनाको मृत्युपछि अहिले इजरायल र हमासबीच भएको युद्धबिरामको सम्झौता लागू भएको छ । यो युद्धबिरामलाई दुवै पक्षले आफ्नो जीत भएको दावी गरेका छन् ।
केही विश्लेषकहरुले भने यो युद्धबिराम केवल केही दिनका लागि भएको र यहाँको समस्याको दीर्घकालीन समाधान नखोजिँदासम्म यहाँ युद्ध भइरहने बताएका छन् । विश्लेषकहरुका अनुसार दुई पक्षबीचको मूल समस्या अहिले पनि यथावत नै रहेको भन्दै यसको समाधान नहुँदासम्म यहाँ युद्ध अपरिहार्यजस्तै भएको बताएका छन् ।
११ दिनको संघर्ष रोकिएर युद्धबिराम भएपछि अहिले गाजाका विद्रोहीहरु खुलेआम पूरै ड्रेस लगाएर हावामा राइफल हल्लाउँदै पूरै गाजा सहरमा परेड गरिरहेको देखिन थालेको छ । गाजामा हमासका शीर्ष नेताहरु पहिलो पटक सार्वजनिक रुपमा उपस्थित भएका छन् । र, हमासका विद्रोहीहरुले अहिले आफ्नो शक्तिको प्रदर्शन गरिरहेका छन् ।
शनिबार सिजफायरपछिको पहिलो दिन थियो । यो दिन सिजफायर भने पूर्ण रुपमा सफल रह्यो । मिश्रका मध्यस्थकर्ताहरुले यो संघर्षविरामलाई सुनिश्चित गर्नको लागि द्विपक्षीय छलफल पनि आयोजना गरे ।
हमास र इजरायलबीच १ दशकमा यो चौथो युद्ध हो । यो युद्धको क्रममा इजरायलले गाजा सहरमा सयौं हवाइ आक्रमण गर्यो । हमासका विद्रोहीले पनि इजरायलतर्फ करिब ४ हजार रकेट हाने । यस क्रममा करिब अढाय सय मानिस मारिए । मारिनेमध्ये धेरैजसो प्यालेस्टाइनी थिए ।
गाजा सहरमा भारी नोक्सानी भएको छ । जताततै भत्किएका भवन र काँचका टुक्रा छरिएका छन् । नगर निगमका कर्मचारीले यसलाई सफा गर्दैछन् । शनिबार हमासका सयौं लडाकुले सेनाको पोसाक लगाएर आफ्ना मृत सिनियर कमाण्डर बास्सेम इस्साको सम्झनामा परेड निकाले ।
हमासका शीर्ष नेता येहियेह सिनवारले बास्सेन इस्साप्रति आफ्नो सम्मान प्रदर्शन गरे । युद्धपछि येहियेह सिनवार सार्वजनिक रुपमा देखिएको यो पहिलो पटक हो ।







डिसी नेपाल








Facebook Comment