स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न काँग्रेसको माग, भेरी अस्पताल प्रकरणको निन्दा

डिसी नेपाल
१४ जेठ २०७८ १५:१७
80
Shares

काठमाडौं। नेपाली काँग्रेसले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। काँग्रेस सहमहामन्त्री तथा काँग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशसरण महतले एक विज्ञप्ति जारी गर्दै कोरोनाको यस्तो महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु निन्दनीय घटना भन्दै बाँकेको भेरी अस्पतालमा भएको घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

विहीबार साँझ भेरीमा उपचाररत दांग तुलसीपुरका एक ५२ वर्षीय पुरुषको मृत्यु भएपछि मृतकका भाई मानवहादुर रावतलगायतले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै तोडफोड गरेका थिए।

प्रेस विज्ञप्ति

हिजो जेठ १३ गते भेरी अञ्चल अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटना सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यान गएको छ ।

स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई विरामीहरुको उपचारमा समेत गम्भीर असर परेको घटनालाई हामीले गम्भीरताका साथ लिएका छौं । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समिति स्वास्थ्यकर्मी माथि भएको यस्तो आक्रमणको निन्दा गर्दछ । साथै, सरकारसँग स्वास्थ्यकर्मीहरुको सुरक्षा र यस्ता आक्रमकजन्य क्रियाकलापहरुलाई रोक्न कानूनी कारवाहीलाई सख्त गर्न पनि माग गर्दछ ।

जय नेपाल !

डा प्रकाशशरण महत
सह–महामन्त्री
एवं
संयोजक
कोभिड—१९ अनुगमन समिति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.