कोरोनाका कारण अलपत्र श्रमिकहरुको उद्धारका लागि मजदुर एकता समाजद्वारा सरकारको ध्यानाकर्षण

डिसी नेपाल
२० जेठ २०७८ २०:२९
144
Shares

काठमाडौं । नेपाली मजदुर एकता समाजले वैदेशिक रोजगारीमा विभिन्न कारण समस्यामा परेका अथवा कोरोना भाइरसको कारण अलपत्र श्रमिकहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘मजदुरका लागि मजदुर अभियान’ भन्ने नारा बोकेर विगत केही वर्षदेखि प्रवासी नेपाली श्रमिकहरुको स्वतन्त्ररूपमा प्रतिनिधित्व गर्दै आएको समाजले नेपाल सरकारद्वारा बनाइएको संयन्त्र द्रुत प्रतिकार्य समूह (र्‍यापिड रेस्पोन्स टिम) तथा नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

समाजले बिहिबार जारी गरेको ध्यानाकर्षण पत्रमा युएईमा दैनिक एउटा वाइडबडी उडान हुनुपर्ने त्यस्तै मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी उडान गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

नेपाललगायत विभिन्न मुलुकहरूमा कोरोना भाइरस कोभिड–१९ को कारण अवरुद्ध हुन पुगेको नियमित अन्तर्राष्ट्रिय उडानहरूको कारण वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, साउदी अरेबिया, युएई, कतार, बहराइन, ओमनलगायतका देशहरूमा भिसा अवधि सकिएका नेपाली श्रमिकहरू र उक्त देशहरूमा कार्यरत रहँदा विभिन्न कारण मृत्यु हुन पुगेका नेपाली श्रमिकको शव अलपत्र पर्न थालेको गुनासो आएपछि सरकारको ध्यानाकर्षण गराइएको हो ।

विज्ञप्तिमा युएईको हकमा प्रत्येक दिन एउटा वाइडबडी उडान हुनुपर्ने त्यस्तै मलेसिया र साउदीमा हप्तामा एउटा वाइडबडी र अन्य देशमा पनि आवश्यकताअनुसार उडानको व्यवस्था मिलाएर प्रतीक्षारत श्रमिक र मृतकका शवलाई अविलम्ब नेपाल फर्काउन संयन्त्र र नेपाल सरकारले तत्कालै आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.