नेपाली दम्पतीविरुद्ध लुटपाटको आरोपसहित भारतको बेंगलुरु प्रहरीमा उजुरी
काठमाडाैं। भारतको बेंगलुरुस्थित एक व्यवसायीले नेपाली दम्पतीविरुद्ध लुटपाटको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका छन्। उजुरीअनुसार, घरमै घरेलु कामदारका रूपमा कार्यरत नेपाली दम्पतीले घरधनी परिवार बाहिरिएको मौका छोपेर योजनाबद्ध रूपमा ठूलो परिमाणको सम्पत्ति लुटपाट गरेका हुन्।
इण्डिया टुडेमा प्रकाशित समाचारअनुसा व्यवसायी परिवार भूमि पूजामा सहभागी हुन बाहिरिएको अवसर छोपेर चोरी गरिएको हो। उजुरीअनुसार, घर खाली रहेको केही घण्टामै लकर तोडफोड गरी आजीवन संचित सम्पत्ति लुटिएको छ। चोरीमा करिब ११.५ किलो सुन तथा हिरा–जडित गहना, झण्डै ५ किलो चाँदीका सामग्री र ११.५ लाख रुपैयाँ नगद लगिएको बताइएको छ।
उजुरीकर्ता शिमन्थ एस. अर्जुन (२८) ले घरेलु कामदारका रूपमा कार्यरत दिनेश र उनकी पत्नी कमलाले चोरी गरेको आरोप लगाएका छन्।
जनवरी २५ को बिहान परिवार बाहिरिएपछि दिउँसो करिब १२:३८ बजे कामदारमध्ये एक जनाले फोनमार्फत लकर फुटेको जानकारी दिएका थिए। घर फर्कँदा ग्राउन्ड फ्लोर र पहिलो तलाका शयनकक्षका लकरहरू फलामे रड प्रयोग गरी खोलिएको भेटिएको प्रहरीले जनाएको छ।
चोरी भएका सामग्रीको खोजी र अन्य संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment