चामेमा थुनिएको मर्स्याङ्दी ब्लास्ट गरेर खोल्ने प्रयास असफल, उपकरणबाट नदी खोतलिँदै

डिसी नेपाल
१३ असोज २०८३ ९:३०

मनाङ । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीलाई ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन। नदी थुनिएको स्थानमा ब्लास्टका लागि आवश्यक ठूलो चट्टान फेला नपरेपछि नेपाली सेनाको प्राविधिक टोलीले काम अघि बढाउन नसकेको हो।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्टका लागि आएको सेनाको प्राविधिक टोली सोमबार नै चामे पुगेको थियो। तर नदी थुनिएको आसपासको क्षेत्रमा ब्लास्ट गर्न उपयुक्त स्थान नपाएपछि तत्काल विस्फोट गराउने काम रोकिएको छ।

पौडेलका अनुसार नदी थुनिएको क्षेत्रमा ठूलो चट्टानभन्दा पनि गिट्टी, बालुवा, रुख, माटो र लेदोसहितको सामग्री थुप्रिएको छ। ब्लास्ट गर्न ठूलो चट्टान आवश्यक पर्ने भएकाले उपयुक्त ठाउँ पहिचान गर्न समस्या भएको उनले बताए।

ब्लास्टमार्फत नदीको अवरोध हटाउने प्रयास तत्काल सम्भव नभएपछि अहिले दुई वटा उपकरण प्रयोग गरेर नदी खोतल्ने काम भइरहेको छ। अवरोध हटाएर पानीको बहावलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाइएको छ।

अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएपछि चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको हो। नदी थुनिएपछि बनेको तालबाट भने आंशिक रूपमा पानी बग्न थालेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अहिले पनि करिब ४ सय मिटर लामो र ८० मिटर चौडाइसम्मको ताल बनेको छ। उक्त ताल करिब २० फिटसम्म गहिरो हुन सक्ने अनुमान गरिएको छ।

चार दिनसम्म परेको अविरल वर्षाका कारण मनाङका विभिन्न क्षेत्रमा विद्युत्, टेलिफोन तथा सडक सञ्जालसमेत अवरुद्ध भएका छन्। नदीको अवरोध हटाउने काम भइरहेको र त्यसपछि मात्रै प्रभावित क्षेत्रमा यातायात तथा अन्य सेवा सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *