वर्षाका कारण नेपाल एसियन गेम्सबाट बाहिरियो, आईसीसी वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा

डिसी नेपाल
१३ असोज २०८३ ६:२७

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

मंगलबार बिहान पौने ६ बजेका लागि तय भएको नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेलमा लगातारको वर्षाका कारण एउटा पनि बल फाल्न सम्भव भएन।

खेल रद्द भएसँगै आईसीसीको पछिल्लो पुरुष टी-२० वरीयताका आधारमा नवौँ स्थानमा रहेको श्रीलंका सेमिफाइनल पुगेको छ भने १४ौँ स्थानमा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ।

प्रतियोगिताको नियम अनुसार खेल नतिजाविहीन भएमा उच्च वरीयतामा रहेको टोली स्वतः अघिल्लो चरण प्रवेश गर्ने प्रावधान रहेको छ। यससँगै एसियन गेम्समा क्वाटरफाइनलको यात्रा पार गर्ने नेपालको चौथो प्रयास पनि असफल भएको छ। यसअघि सन् २०१०, २०१४ र २०२२ को एसियन गेम्समा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो। पहिलो खेलमा बलियो टोली अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको नेपालले आयोजक जापानसँगको दोस्रो खेल वर्षाले रोकिनुअघि १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो।

उक्त खेलमा सन्दीप जोराले ३२ बलमा ५७ रन र लोकेश बमले २२ बलमा आक्रामक ५२ रनको नटआउट अर्धशतकीय पारी खेलेका थिए भने आसिफ शेखले २१ रन जोडेका थिए। जापानसँगको खेल नतिजाविहीन भएपछि तीन अंक जोड्दै नेपाल समूह विजेता बनेको थियो।

जापानको खराब मौसमका कारण प्रतियोगिताका अन्य क्वाटरफाइनल खेलहरू पनि प्रभावित भएका छन्। यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानबीचका खेलहरू पनि वर्षाका कारण रद्द हुँदा उच्च वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगिसकेका छन्।

मंगलबार पौने ११ बजे मलेसिया र बंगलादेशबीच हुने तय भएको अन्तिम क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द हुने सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *