चैते धानको मूल्य निर्धारण

डिसी नेपाल
२२ जेठ २०७८ २३:१९
128
Shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो । गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । कृषकले उत्पादन गरेको चैते धान यहाँका मिलहरूले निषेधाज्ञालाई कारण देखाउँदै प्रति क्विन्टल रु एक हजार ६०० मा खरिद गर्ने भनेपछि कृषक समस्या लिएर नगरपालिका पुगेका थिए । कृषकको समस्या आएपछि उनीहरूलाई लिएर नगरप्रमुख आफैँ आज जयश्री फुड्समा पुगेर धानको खरिद मूल्य निर्धारण गर्न लगाएका हुन्।

नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट–९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा र जयश्री फुड्का खरिद बिक्री शाखा प्रमुख प्रकाश घिमिरेबीच सहमति भएर चैते धानको मूल्य निर्धारण गरिएको हो । घिमिरेले अन्य जिल्लामा चैते धानको मूल्य थोरै भएको भए पनि स्थानीय उत्पादन भएका कारण गैँडकोटका कृषकलाई बढी मूल्य दिइएको बताए । “चितवनको पर्सा, भण्डारालगायत स्थानमा अधिकतम मूल्य रु दुई हजार ३५० मा धान खरिद बिक्री भइरहेको छ”, घिमिरेले भने, “तर हामीले स्थानीय उत्पादन भएका कारण यहाँका कृषकलाई केही राहत पुगोस् भनेर प्रति क्विन्टल रु दुई हजार ४०० दिन सहमती जनाएका हौँ ।” कोरोना महामारी र जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण धानको मूल्य बढाएर खरिद गर्न नसकिएको घिमिरेले बताए ।

कृषकले उत्पादन गरेको चैते धानको मूल्य निर्धारण पछि नगरप्रमुख पौडेलले कृषकको उत्पादन गरेका खाद्य वस्तु कुनै पनि कारण खेर जान नदिनेमा आफू प्रतिबद्ध रहेको बताए । “कृषि क्षेत्रको उन्नती र विकास विना कहीँ पनि समृद्धि हासिल गर्न सकिँदैन”, नगरप्रमुख पौडेलले भने, “यहाँका किसानले उत्पादन गरेको धानले उचित मूल्य नपाएको गुनासो गर्नासाथ म आफै खटिएर मिलसँग धानको अधिकतम मूल्य तोक्न अनुरोध गरेको हुँ ।” जिल्लाकै सबैभन्दा बढी उर्बर भूमि गैँडाकोट नगरपालिकाभित्र रहेको भन्दै उनले यहाँ उत्पादन भएको खाद्यान्नले जिल्लाको माग धान्नेसमेत बताए ।

गैँडाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ मा अहिले चैते धान भित्र्याउने समय भएको छ । वडा नम्बर ११ को भेँडाबारीमा मात्रै २६० बिघा क्षेत्रफलमा चैते धान रोपिएको वडाअध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । “कोरोनालाई कारण देखाउँदै रु एक ६०० प्रति क्विन्टलमा धान किन्न सक्ने मिलहरूले बताइरहेका थिए”, सुवेदीले भने, “नगरप्रमुखको पहलमा प्रतिक्विन्टल धानको खरिद बिक्री मूल्य रु २ हजार ४०० तोकिनु कृषकका लागि धेरै राम्रो कुरा हो ।”

गैँडाकोटको मुकुन्दपुरको २६० बिघा क्षेत्रफललाई समेटेर कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले मुकुन्दसेन धान ब्लक सञ्चालन गरेर कृषकलाई अनुदान समेत प्रदान गर्दै आएको छ । यहाँ ज्ञान केन्द्रले मुकुन्दसेन धान ब्लक कार्यक्रम लागू गरेपछि कृषकलाई चालु आर्थिक वर्ष २०७७र७८ मा रु २३ लाख ६४ हजार ४८१ अनुदान दिएको ब्लक सञ्चालक समितिका अध्यक्ष निर्मल न्यौपानेले बताए । सो कार्यक्रमका लागि कृषकबाट रु ११ लाख ४४ हजार ४९७ बराबरको लागत सहभागिता जनाएका छन् ।

सोही कार्यक्रममा स्थानीय सरकारको हैसियतले गैँडाकोट नगपालिकाले सिँचाइ, विद्युत्को व्यवस्थालगायत सुविधा बढाएर कृषकलाई धान खेतीतर्फ आकर्षित गराएको थियो । ब्लक सञ्चालन गरिएको स्थानमा प्रति बिघा ५० क्विन्टलसम्म धान उत्पादन भएको न्यौपानेले बताए । मुकुन्दपुर धान ब्लकबाट मात्रै यसवर्ष चैते धान १० हजार क्विन्टलभन्दा बढी उत्पादन हुने न्यौपानेको भनाइ छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.