उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञा थप
काठमाडौं । कोरोनाको दोश्रो लहरका कारण भएको निषेधाज्ञाको समयावधि काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा थप गरिएको छ। थप गरिएका जिल्लाहरुमा असार ७ गतेसम्म निषेधाज्ञा लागु हुने छ।
जेठ मसान्त राति १२ बजेसम्म लागु गरिएका जिल्लाहरुको निषेधाज्ञाको समय थप गरिएको हो। यी बाहेकका केही जिल्लाहरुमा असारसम्म नै निषेधाज्ञाको समयावधि कायम रहेको छ। अन्य जिल्ला भन्दा काठमाडौं उपत्यकामा धेरै सेवाहरु खुल्ला गरिएको छ।
गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।
सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो।
दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ।
ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ। धेरैजसो जिल्लामा कोरोना सङ्क्रमणको जोखिम घटेको छैन। उच्च ज्वरो, श्वासप्रश्वासलगायत स्वास्थ्यमा समस्या देखिएका बिरामी मात्र पीसीआर परीक्षणका लागि अस्पताल आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार घरदैलोसम्म पुगेर कसैको परीक्षण गरिएको छैन।







डिसी नेपाल








Facebook Comment