चुरे संरक्षणमा सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री राना (भिडियोसहित)

डिसी नेपाल
१ असार २०७८ ११:५९
84
Shares

काठमाडौं। वन तथा वातावरण मन्त्री नारदमुनि रानाले चुरेका बारेमा अपव्यख्या गरिएको  दाबी गरेका  छन्। डिसी नेपालसँगको कुराकानीमा मन्त्री रानाले सरकारले चुरे संरक्षणका लागि अलग्गै कार्यक्रम ल्याएको र चुरेमा कुनै प्रभाव पर्न नदिने दाबी गरे।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि उनले सरकारले बजेटमा भनेको वाक्यहरुमा अपव्याख्या भएको पनि बताएका छन्। ढुङ्गा गिट्टी निकासीको विषयलाई चुरेसँग जोडेर सरकारको आलोचना गर्ने काम भएको उनले बताए।

उनले भने, ‘बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले चुरे क्षेत्रलाई छोडेर गिट्टी र बालुवा उठाउने कुरा गरेको प्रष्ट हुँदाहुँदै पनि अपव्याख्या गरिएको छ। सरकार चुरे संरक्षणमा कुनै पनि कसुर बाँकी राख्दैन।’

चुरे मासिने गरी गिट्टी र बालुवा निकासी भएको अवस्थामा वन मन्त्रालयले नै सबै भन्दा पहिला प्रतिकार गर्ने पनि उनको भनाइ छ। उनले भने, ‘नदी जन्य ढुङ्गा गिट्टी बालुवा निकासी गर्ने, अर्को के लेखिएको छ भने चुरे, भावर, सिवालेखलगायतको जुन क्षेत्र छ त्यो बाहेकको ठाउँमा उद्योग मन्त्रालयको खानी तथा भूगर्भ विभागले पहिचान गरेका क्षेत्रफलहरु ८५ वटा स्थानबाहेक ठाउँमा रहेका खानी जन्य पदार्थहरुको उत्खनन् गरेर व्यापार गर्ने भन्ने कुरा गरिएको हो।’

वातावरणीय प्रभाव मुल्याङ्कनको आधारमा जाने र यदि वातावरणमा प्रभाव परेको अवस्थामा बन्द गरिदिने पनि उनले बताए। वातावरणमा नकारात्मक प्रभाव नपर्ने गरी तत्तत् ठाउँको पहिचान गरेरमात्र खानी जन्य पदार्थहरु उत्खनन् गर्ने भनेर सजिलो भाषामा लेखिएको उनले बताए।

वन मन्त्रालयले देशमा भन्ने सबैखाले ठूला विकासका आयोजना अन्तर्गत पनि एक रुख काटेवापत २५ रुख रोप्नु पर्ने नीति लिएको उनको भनाइ छ। उनले भने, ‘हामी विकासका वाधक होइनौं। उदाहरणको लागि निजगढ विमानस्थलकै कुरा गर्दा त्यहाँ भित्र भएका रुखहरु काट्नु पर्छ। ति रुख काटे वापत १ रुखको २५ का दरले रोप्न भनेर वन मन्त्रालय र पर्यटन मन्त्रालयको सम्झौता भइसकेको छ।’

यस्तै मन्त्री रानाले आफूलाई रातो पासपोर्टमा पार्टी भित्रकै नेताहरुले फसाएको पनि सुनाए। उनले आफ्ना पार्टीका ठूला नेताहरुको मिलेमोतोमा आफ्नो नामको रातो पास्पोर्ट बनेको खुलाएका छन्।

‘आवश्यक पर्दा नाम पनि भनुला, समय आएपछि उहाँलाई बोलाउन पनि लगाउँला।’ उनले भने, ‘उहाँहरुकै सेटिङमा मेरो बदनाम गर्नका लागि रातो पासपोर्ट बनाएर बेचेको आरोप लगाइयो। मैले पास्पोर्ट लिने मान्छेलाई पनि चिनेकौ छैन।’

अर्को प्रसगमा उनले आफूले कुनै पनि हालतमा मन्त्रालयभित्र सेटिङ चल्न नसक्ने बताएका छन्। उनले भने, ‘वन मन्त्रालयभित्र सेटिङमा तस्करी हुन्छ भन्ने जुन कुरा हजुरले उठाउनु भएको छ। अब त्यो हुँदैन। त्यो सम्भावना नै छैन्। नीति र नियमको पेरीफेरी भन्दा बाहिर जान सकिँदैन।’

नेपालले कन्जब्सन गरेको कार्वनको क्षतिपूर्ति पाउन थालेको मन्त्री रानाको भनाइ छ। रानले भने, ‘अमेरिका स्थित एउटा उद्योगले नेपाल लगायत कार्वन कन्जब्सन गर्न भूमिका निर्वाह गर्ने देशहरुलाई क्षेतिपूति दिने घोषणा गरेको छ। हामी विस्तारै अरु कार्वन उत्सर्जन गर्ने देशहरुसँग पनि प्रक्रियागत छलफलमा जाँदैछौं। नेपालले कार्वन कन्जब्सन गरेबापत क्षेतिपूति पाउने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.