गाउँको चउरमा हीरा भेटिएको हल्ला फैलिएपछि…

डिसी नेपाल
२ असार २०७८ १५:१३
5.8k
Shares

काठमाडौं। गाउँमा रहेको चउरमा हीरा भेटिएको हल्ला फैलिएपछि १ हजारभन्दा धेरै खजाना खोजी गर्न चाहने गाउँलेहरुले सोमबार दक्षिण अफ्रिकाको क्वाजुलु नताल प्रान्तको क्वाहलाथी गाउँको चउर पूरै खनेर सके । यो क्षेत्रमा अज्ञात पत्थर भेटिएका थिए जुन पत्थरलाई हीरा ठानेर उनीहरु चउर खन्न गएका थिए । हल्ला फैलिएपछि दक्षिण अफ्रिकाका अन्य स्थानबाट पनि मानिसहरु त्यहाँ आए । शनिबारदेखि केही स्थानीय गाउँलेले खन्न सुरु गरेकोमा सोमबार हीरा खोज्नेहरुको संख्या हजारभन्दा धेरै भएको थियो ।

यहाँ एक स्थानीयले खन्ने क्रममा एउटा पत्थर फेला पारेका थिए । त्यो पत्थरलाई केहीले क्वार्ज पत्थर मानेका छन् तर केहीलाई त्यो हीराजस्तो लाग्यो त्यसपछि त्यहाँ खन्ने मानिसहरु ओइरिए । चउरमा कथित हीराको खोजीको लागि आएका मेन्दो साबेलोले हातभरी अज्ञात पत्थर लिएर सीएनएनसँग कुरा गर्दै भने ‘यसको अर्थ हाम्रो जीवन परिवर्तन हुनेछ किनकि यहाँ कसैसँग राम्रो काम छैन । मैले पनि अप्ठ्यारो काम गर्छु । म यी पत्थर लिएर घर जाँदा उनीहरु निकै खुसी भए ।’

अर्का बेरोजगार खुम्बुजो एम्भेलेले भने ‘मैले मेरो जीवनमै हीरा देखेको वा छोएको छैन । यहाँ मैले यसलाई छोएको पहिलो पटक हो ।’ सोमबार त्यहाँको खानी विभागले त्यहाँ भेटिएका पत्थर के हो भन्नेबारे पत्ता लगाउन विशेषज्ञको एक टोलीलाई नमूना लिनको लागि पठाएको छ । विभागले जाँच पूरा भएपछि औपचारिक प्राविधिक रिपोर्ट जारी गरिने बताएको छ ।

यो पत्थर के हो भन्ने राम्रो जाँचको अभावका कारण यहाँ खजाना खोज्न आउनेहरुको भिड लागेको छ । उनीहरुले खनिरहेको खुला चौरसम्म जाने ग्राभेल सडकको दुवैतर्फ पार्क गरिएका गाडीहरुको लाइन लागेको छ । यहाँ युवा, वृद्ध, महिला, पुरुष सबै खन्नमै व्यस्त छन् । दक्षिण अफ्रिकाको अर्थतन्त्र बेरोजगारीको चपेटामा परेर धराशायी भएको छ यहाँ लाखौं गरिबीको रेखामुनि छन् ।

केही मानिसहरुले यहाँ भेटिएका यी पत्थरहरुलाई १०० रेन्ड (८५० नेपाली रुपैयाँ) देखि ३०० रेन्ड (२५५० रुपैयाँ) सम्ममा बेच्न पनि थालेका छन् । यहाँको प्रदेश सरकारले भने कथित हीरा खोज्नको लागि यहाँ खन्ने काममा लागेकाहरुलाई त्यो ठाउँ छोड्न र अधिकारीहरुलाई यसको राम्रोसँग जाँच गर्न दिन आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.