सुर्खेतमा गर्मी बढेपछि सल्यान सरे राउटे

डिसी नेपाल
१० असार २०७८ १४:३६
1.8k
Shares

कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो।

गैरसरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मङ्गलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ। प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः सल्यानमा पुगेको बताए। हाल ४६ घरधुरीमा गरी राउटेहरुको सङ्ख्या १४३ रहेको छ।

आफनो समुदायका सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन भएपनि राउटेहरु यसपटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको बताइएको छ। अछाम, दैलेख, सुर्खेतका विभिन्न जङ्गल क्षेत्र हुँदै उनीहरु सल्यान सरेका हुन्।

गुर्भाकोट नगरपालिकामा रहँदा यही जेठ २१ गते दुई राउटे युवतीमाथि यौनजन्य हिंसाको घटना सार्वजनिक भएको थियो। प्रहरीले उक्त घटनामा संलग्न तीन युवालाई जबरजस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

पहाडी जङ्गलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ। सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक तीन हजार प्रदान गर्दै आएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.