पेनाल्टीमा जित निकाल्दै स्पेन सेमिफाइनलमा
काठमाडौं। युरोकपको सर्वाधिक सफल टिम स्पेन युइएफए युरो २०२० को सेमिफाइनल पुग्ने पहिलो टोलि बनेको छ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार सम्पन्न खेलमा स्विजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३ – १ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै स्पेनले जित हात पारेका हो।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे। स्पेनका सर्जियो बुस्केट्सले गरेको सुरुकै पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विजरल्याण्डका गोलकिपर यान सोमेरले बचाएका थिए।
पेनाल्टीमा स्विट्जरल्यान्डका खेलाडीको प्रर्दशन भने फितलो रह्यो। पेनाल्टी प्रहार गरेका खेलाडीमध्ये मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जीको फितलो प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो।
पेनाल्टी सुटआउटमा जानु भन्दा पहिले खेल १ – १ को बराबरीमा सकिएको थियो।
स्पेनले डेनिस जकरियाको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाएको थियो। स्जिरल्याण्डका लागि कप्तान छेरदन शकीरीले एक गोल फर्काए।
स्पेनले उपहार गोलको मद्दतमा पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको आठौँ मिनेटमा जोर्डी अल्बाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार स्विजरल्याण्डका डेनिस जकरियासँग डिफलेक्ट हुँदै गोल भएको थियो।

उक्त उपहार गोलमा स्पेनले खेलको पहिलो हाफमा १ – ० को अग्रता लिएको थियो।

दोस्रो हाफको ६८ औं मिनेटमा छेरदन शकीरीले गोल गर्दै स्विजरल्याण्डलाई खेलमा फर्काएका थिए। स्पेनको डिफेन्सको गल्तिको फाइदा उठाउँदै रेमो फ्रिलरले दिएको पासमा शकीरीले गोल गरेका थिए।

रेमो फ्रिलरले रेड कार्ड पाएपछि स्विजरल्याण्ड १० खेलाडीमा सिमित भएको थियो। फ्रिलरले खेलको ७७ औं मिनेटमा विपक्षी खेलाडीलाई अनावश्यक फउल गरेपछि रेडकार्ड पाएका थिए।
स्विजरल्याण्डले निर्धारित समयमो अन्तिम १५ मिनेट र अतिरिक्त समय ३० मिनेट गरी करिब ४५ मिनेट १० खेलाडीमा सिमित भएर खेलेको थियो। तर, स्विजरल्याण्डका गोलकिपरले उत्कृष्ट प्रर्दशनको मद्दतमा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
दुवै टोलिले गोल गर्ने केही अवसर बनाए पनि गोल भने गर्न सकेनन्।
खेलको २५ औं मिनेटमा स्पेनका सीजर अजपिलीकुएटाले गरेको प्रहार स्जिरल्याण्डका गोलकिपरले बचाएका थिए।
खेलको ५६ औं मिनेटमा स्विजरल्याण्डले गोल गर्ने सुनौलो अवसर बनाएको थियो। रिकार्डो रोड्रिगेजले कर्नरमार्फत दिएको पासमा डेनिस जकरियाले प्रहार गरेको हेडर गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।
स्टेभेन जुबेरले ६४ औं मिनेटमा प्रहार गरेको बल स्पेनका गोलकिपर उनाई सिमोनले उत्कृष्ट बचाव गरेका थिए।
अतिरिक्त समयको ९२ औं मिनेटमा जोर्डी अल्बाले दिएको सुन्दर पासमा जिराड मरिउन्होले गोल गर्ने सुनौलो अवसर बनाएका थिए। तर उक्त अवसरमा मरिउन्हो गोल गर्न चुके।
१०१ औं मिनेटमा र १०४ औं मिनेटमा स्विजरल्याण्डका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए।
यो जितसँगै स्पेन युरो २०२० को सेमिफाइनल पुग्ने टोलि बनेको छ। स्पेनले फाइनल प्रवेशका लागि अब बेल्जियम र इटालीबीचको विजेतासँग प्रतिस्प्रधा गर्ने छ।
हारसँगै पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्विजरल्याण्ड प्रतियोगिताबाट बाहिरीएको छ।







डिसी नेपाल







Facebook Comment