तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल रेसमा हिमाल र हुमी विजयी

डिसी नेपाल
२३ असार २०७८ ९:२९
68
Shares

काठमाडौं । भूमे युवा विकास केन्द्रको आयोजनामा भएको तेस्रो गुरिल्ला अल्ट्रा ट्रेल रेसमा गाबाङका १८ वर्षे हिमाल बुढा मगर (पुरुषतर्फ) र प्युठानकी २२ वर्षिया हुमी बुढा मगर (महिलातर्फ) विजयी भएका छन्।

तीन वर्षदेखि भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भइरहेको यो दौड प्रतियोगिता ५२ किलोमिटरको हुन्छ। हिमालले यो दूरी ५ घन्टा ५३ मिनेटमा पूरा गरेका थिए भने हुमीले ८ घन्टा ३२ मिनेटमा गरेकी थिइन्।

यही प्रतियोगितामा महतका कर्मान रोकाले द्वितीय र सानी भेरीका अर्जुन कुमार बस्नेतले तृतिय स्थान हासिल गरेका थिए । महिलातर्फ भूमे ७ की रोजिना बुढा मगर र दोमईकी निर्मला बुढा मगरले क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका थिए। प्रतियोगितामा २१ महिला गरि जम्मा १२९ जना खेलाडीहरु सहभागी थिए।

माओवादी जनयुद्ध कालमा ठूले राई अपहरण कान्डबाट चर्चित बनेको ऐतिहासिक महत गाउँबाट सुरु भएको यो दौडमा धावकहरु लाबाङ गाउँ हुँदै रोल्पाको धार्मिक स्थल जलजला उक्लेर थबाङ झरेपछि फेरी भूमेको एकिकृत कृषि अनुशन्धान केन्द्र रहेको मारिङ धुरी उक्लेर साना लेक हुँदै महत झरेका थिए।
प्रतियोगिताका खेलाडीहरुको मनोबल बढाउन स्थानीयले बाजागाजा र भुमे नाँच गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार र पाँचौदेखि दशौं स्थानसम्म आउने हरेक धावकलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँको व्यवस्था गरिएको थियो।

पूर्व आपूर्तीमन्त्री गणेशमान पुनले विजेताहरुलाई कपका साथै मेडल, प्रमाणपत्र र धनराशी हस्तान्तरण गरेका थिए। त्यस्तै, लुम्बिनी प्रदेश सभासद तेज बहादुर वली, भूमे गाउँपालिका अध्यक्ष्य रामसुर बुढा, उपाध्यक्ष्य मनकुमारी बुढा विष्ट, थबाङ गाउँपालिका अध्यक्ष्य विरवहादुर घर्तीका साथै अरु स्थानीय नेताहरुले प्रतियोगिताका विजेता तथा सहभागीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । यही क्रममा उनीहरुबाट महतमा निर्माणाधिन रंगशाला, युद्ध फिचर र जनसेनाका मूर्तिहरुको अवलोकन गरिएको थियो।

सो अवसरमा पूर्वमन्त्री गणेशमान पुनले १० वर्षे युद्धकालमा माओवादी सेनाले हिंडेका यी महत्वपूर्ण ऐतिहासिक पदमार्ग तथा स्थलहरुमा दौड प्रतियोगिता हुनु लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन भएको संघर्ष र त्यागलाई संस्मरण र सम्मान भएको बताए। साथै, भविष्यमा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि यो प्रतियोगितामा आकर्षित गर्नसके आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनबाट स्थानीयहरुले आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको उनले बताए।

भूमे गाउँपालिकाद्वारा २०७६ मा युवाहरुको सर्वाङिण विकासको लागि स्थापना गरिएको भूमे युवा विकास केन्द्रले दुई वर्षयता गुरिल्ला अल्ट्रा ट्रेल रेस आयोजना गर्दै आएको छ। केन्द्रले विभिन्न खेलकुदका साथै युवाको क्षमता विकास, उद्यमशिलता र समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा निर्णायक तथा अर्थपूर्ण सहभागिता बढाउने कार्यक्रमहरु गर्ने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *