कार्यदल बैठक बस्नु अघि माधव नेपालसँग भीम रावलको छलफल
काठमाडौं। विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्नु अघि एमाले उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधव नेपाल छलफल गरेका छन्।
नेपाल र रावलबीच झण्डै एक घण्टा छलफल भएको छ। कार्यदलले विवादित विषयमा सहमति जुटाउने प्रयास गरिरहेका बेला नेपाल समूहका कार्यदल सदस्य रावलले नेता नेपालसँग छलफल गरेका हुन्।
रावल काेटेश्वरबाट फर्किएपछि अर्थमन्त्रालयमा कार्यदलकाे बैठक सुरू भएकाे छ। सबै विवादित विषयमा कार्यदलले सहमति निकाल्ने प्रयास गर्नेछ।
बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको छलफल सकारात्मक भएपछि तीन नेताबीच छलफल भएको हो।
होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो।
तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन्। कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए।
वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ। ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन। यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ।
आजै उपाध्यक्षद्वय बामदेव गौतम, भीम रावल र उपमहासचिव विष्णु पौडेलबीच पनि सिंहदबारका छलफल भएको थियो। कार्यदलमा आजै सहमति जुटाउने प्रयास हुने कार्यदलका एक सदस्यले डिसी नेपाललाई जानकारी दिए।







डिसी नेपाल








Facebook Comment