कोशीमा पुराना दल परे पछि, श्रम संस्कृति दोस्रोमा

डिसी नेपाल
२८ फागुन २०८२ ७:४१
152
Shares

विराटनगर। प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोसी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन देखाएको छ। सुनसरी क्षेत्र नम्बर १ बाट उदाएको श्रम संस्कृति पार्टी प्रदेशमा दोस्रो ठुलो दलका रूपमा स्थापित भएको छ भने परम्परागत दल पछि परेका छन्।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो।

प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको उक्त पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीजस्ता पुराना दललाई मतसंख्यामा उछिनेको छ। समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रता कायम गर्दै पहिलो दल बनेको छ। रास्वपाले ८ लाख ५३ हजार १८३ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ पनि रास्वपाले कोसी प्रदेशका १७ सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ।

यसैबीच, प्रत्यक्षतर्फ चार सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ मतसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी, प्रत्यक्षतर्फ चारै सिट जितेको नेकपा एमाले भने २ लाख ८८ हजार १८६ मतसहित चौथो स्थानमा सीमित भएको छ।

कोसी प्रदेशमा प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको नेपाल कम्युनिष्ट पार्टी समानुपातिकतर्फ ९७ हजार ६७९ मतसहित पाँचौँ स्थानमा रहेको छ। राजसंस्था र हिन्द राज्यको एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अपेक्षाकृत कमजोर देखिएको छ। प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा समानुपातिकतर्फ ६२ हजार ८९९ मतसहित छैटौँ स्थानमा सीमित भएको छ।

त्यसैगरी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समानुपातिकतर्फ आठौँ स्थानमा पुगेको छ। जसपा नेपालले प्रदेशभर १३ हजार ८ सय ४० मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कोसी प्रदेशमा त्रिमूल नेपालले सबैभन्दा कम १ सय ५ मत प्राप्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *