उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल हान्यो

डिसी नेपाल
४ असोज २०८३ १६:४२

काठमाडौं । उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रमा एक ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। जापानको रक्षा मन्त्रालयले यसको जानकारी दिएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले एक अज्ञात प्रक्षेपास्त्र प्रहार गरेको जनाएको छ। जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार यो मिसाइल जापानको विशेष आर्थिक क्षेत्र भन्दा बाहिर खसेको छ।

रोयटर्सको रिपोर्टअनुसार, यसको एक दिनअघि उत्तर कोरियाले प्योङयाङको आणविक कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघको आणविक अनुगमन निकायको प्रस्तावलाई अस्वीकार गरेको थियो। यो वक्तव्य सरकारी सञ्चारमाध्यममार्फत पढेर सुनाइएको थियो। गत हप्ता उत्तर कोरियाले अमेरिकाको नेतृत्वमा भएको नौसैनिक अभ्यासको पनि निन्दा गरेको थियो। दक्षिण कोरिया र जापान समेत सहभागी रहेको उक्त अभ्यास अगस्ट २९ देखि सेप्टेम्बर १० सम्म गुआम नजिक चलेको थियो।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले शुक्रबार अमेरिकाको नेतृत्वमा भएका सैन्य अभ्यासहरूलाई कोरियाली प्रायद्वीपमा लगातार बिग्रँदै गएको तनावका लागि जिम्मेवार ठहराएकी थिइन्। उनले आफ्नो देशले आणविक हतियार सुदृढ पार्ने दिशामा लिएको नीतिमा कुनै परिवर्तन नगर्ने बताएकी थिइन्।

उत्तर कोरियाको मिसाइल प्रहारको खबरलगत्तै दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले आइतबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। रिपोर्टअनुसार उत्तर कोरियाले वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ कम दुरीका ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो।

दक्षिण कोरियाले यस क्षेप्यास्त्र प्रहारको निन्दा गरेको छ। यो करिब एक हप्ताको अवधिमा उत्तर कोरियाको दोस्रो मिसाइल परीक्षण हो। यसअघि सेप्टेम्बर १२ मा पनि परीक्षण गरिएको थियो। एनएससीले प्योङयाङलाई तुरुन्त मिसाइल गतिविधिहरू रोक्न आग्रह गर्दै यो परीक्षण संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको प्रत्यक्ष उल्लङ्घन भएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *