रूसमा संसदीय निर्वाचनमा पुटिनको पार्टी अगाडि, ५ पार्टीले कटाए थ्रेसहोल्ड

डिसी नेपाल
५ असोज २०८३ १६:०५

काठमाडौं । रुसमा १८ देखि २० सेप्टेम्बर २०२६ सम्म भएको संसदीय निर्वाचनपछि अब मतगणना जारी छ। यो निर्वाचन २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको रुसको पहिलो संसदीय निर्वाचन हो।

४५० सदस्य रहेको ‘स्टेट डुमा’ अर्थात् रुसी संसद्को तल्लो सदनका लागि मतदान गराइएको थियो। प्रारम्भिक नतिजाहरूमा पुटिनको पार्टी ‘युनाइटेड रसिया’ करिब ५८% मतका साथ सबैभन्दा अगाडि छ।

रुसको केन्द्रीय निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार युनाइटेड रसियापछि ‘कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेसन’ दोस्रो स्थानमा रहेको छ। प्रारम्भिक गणनामा उसले करिब १४% मत प्राप्त गरेको छ। त्यसपछि ‘लिबरल डेमोक्रेटिक पार्टी अफ रसिया’ करिब ९% मतका साथ तेस्रो स्थानमा छ।

‘न्यू पिपुल पार्टी’ ले करिब ८% मत प्राप्त गरेको छ। त्यस्तै, ‘ए जस्ट रसिया’ करिब ५% को आसपासमा छ। प्रारम्भिक नतिजाहरूमा युनाइटेड रसिया करिब ५७.५% मतका साथ अगाडि छ, भने कम्युनिस्ट पार्टी, एलडीपिआर र न्यू पिपल्स जस्ता दलहरू संसद्मा पुग्ने स्थितिमा छन्। चुनावको अन्तिम नतिजा अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।

रुसी संसद्मा कुल ४५० सिट रहेका छन्। जसमध्ये २२५ सिट पार्टीको सूची (समानुपातिक) को मतबाट र २२५ सिट प्रत्यक्ष निर्वाचन क्षेत्रबाट तय हुन्छन्। प्रारम्भिक गणनामा युनाइटेड रसियाका उम्मेदवारहरू २२५ मध्ये १६१ वटा एकल-सिट (प्रत्यक्ष) निर्वाचन क्षेत्रमा अगाडि भइरहेका थिए।

कम्युनिस्ट पार्टी चार, ए जस्ट रसिया तीन र एलडीपीआर दुई सिटमा अगाडि थिए। यस निर्वाचनमा १० वटा राजनीतिक दलहरूले भाग लिएका थिए। यद्यपि, याब्लोको पार्टीलाई भने चुनावअघि सर्वोच्च अदालतको फैसलापछि ब्यालेट (मतपत्र) बाट हटाइएको थियो।

रिपोर्टका अनुसार याब्लोको रुसका ती राजनीतिक दलहरूमध्ये एक थियो, जसले युद्धको विरुद्धमा खुलेर आवाज उठाइरहेका थिए। मतगणना पूर्ण रूपमा सकिएपछि मात्रै ४५० सिटमध्ये कुन पार्टीको खातामा कति सिट पर्यो भन्ने कुरा प्रस्ट हुनेछ। त्यसैले हालका लागि मत प्रतिशत र प्रारम्भिक अग्रतालाई लगातार नियालिँदै छ। अन्तिम नतिजा आएपछि मात्रै सम्पूर्ण चित्र स्पष्ट हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *