पृथ्वी राजमार्गको मलेखु-मुग्लिङ सडकखण्ड क्षतविक्षत: १० भन्दा बढी ठाउँमा पहिरो
काठमाडौं। लगातारको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्डका १० भन्दा बढी स्थानमा भीषण पहिरो खस्नुका साथै सडक भासिँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
ठाउँ-ठाउँमा ठूला ढुंगा, ढलेका रुख र लेदोसहितको पहिरो खसेपछि यो खण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधन बाटोमै रोकिएका छन्।
विशेष गरी कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सडक दुईतर्फी नै ठप्प बनेको छ। फिस्लिङ क्षेत्रका तीन फरक-फरक ठाउँमा करिब २०० मिटर सडक पहिरोले ढोकेको छ भने त्यहाँ सडकको आधा भाग करिब ३० मिटर चर्किएर दबिएको छ।
यसैगरी शीलतबजार, गोमति खोला, चुम्लिङटार र धारापानी खण्डमा पनि पहिरो खस्ने र सडक भासिने गम्भीर समस्या देखिएको छ।
धारापानीमा कल्भर्ट खुलाएर तथा शीलतबजारमा लेदो पन्छाएर एकतर्फी सवारी चलाउने प्रयास गरिए पनि हुग्दी खोलादेखि जवाङ खोलासम्म आधा दर्जनभन्दा बढी स्थानमा निरन्तर पहिरो खसिरहेकाले आवागमन निकै जोखिमपूर्ण बनेको छ।
सडक आयोजना र सुरक्षा निकायका अनुसार निरन्तरको झरी नरोकिएकाले पहिरो पन्छाउने र सडक मर्मत गर्ने काममा निकै कठिनाइ भइरहेको छ। वर्षा रोकिनासाथ सबै स्थानमा हेभी इक्विपमेन्ट परिचालन गरी पहिरो पन्छाउने तयारी गरिएको छ।
बाटो पूर्ण रूपमा नखुलेसम्म यस खण्डमा अत्यावश्यक बाहेकको यात्रा नगर्न र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणसँग अनुरोध गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment