कांग्रेस महाधिवेशन: १३ जिल्लामा आज क्षेत्रीय अधिवेशन, चुनावी मैदानमा केन्द्रीय नेतादेखि युवा र कलाकारसम्म
काठमाडाैं। नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत आइतबार १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन जारी छ।
अत्यधिक वर्षाका कारण प्रभावित बनेको अधिवेशनका लागि निर्वाचन समितिले असोज १३ गतेभित्र आफू अनुकूल सम्पन्न गर्ने विकल्प दिएपछि आज झापा, मोरङ, काठमाडौँ, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतमा क्षेत्रीय अधिवेशन भइरहेको छ।
यस्तै भोलि असोज १२ गते ताप्लेजुङ, काभ्रे, भक्तपुर, कास्की, कैलालीसहित २९ जिल्लामा र १३ गते सुनसरी, नुवाकोट, मकवानपुरसहित ६ जिल्लामा अधिवेशन हुनेछ। इलाममा भने १४ गतेका लागि समय तोकिएको छ।
यसअघि नै १७ जिल्लाले निर्धारित तालिकाअनुसार १० गते नै अधिवेशन सम्पन्न गरिसकेका छन्। पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा, मनाङ, मुस्ताङ र बैतडीको नतिजा सार्वजनिक भइसकेको छ भने संखुवासभा, चितवन, ललितपुर, कञ्चनपुरसहित १३ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुने भएकाले यसलाई निकै महत्त्वपूर्ण मानिएको छ।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन र केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनै पर्ने विधानको बाध्यताका कारण केन्द्रीय नेता, युवा, कलाकार तथा पेसाकर्मीहरू चुनावी मैदानमा उत्रिएका छन्। पालिका सभापति र प्रदेश सभा क्षेत्रीय सभापति भने पदेन सदस्यका रूपमा स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।
विधानअनुसार प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना, सहसचिव दुई जना र मनोनीत कोषाध्यक्ष एक जना रहनेछन्। १८ जना निर्वाचित सदस्यमध्ये दुवै प्रदेश सभा क्षेत्रबाट ६ जना, खुलातर्फ चार जना, युवा दुई जना र समानुपातिकतर्फ ६ जना निर्वाचित हुनेछन् भने थप ६ जना मनोनीत हुनेछन्।
महाधिवेशन प्रतिनिधिका रूपमा प्रत्येक क्षेत्रबाट महिला चार, खुला १०, युवा तीन, समानुपातिक १० र विभिन्न समावेशी तथा लक्षित वर्गबाट एक-एक जना गरी कुल ३३ जना चयन हुनेछन्। यस्तै प्रत्येक क्षेत्रबाट १२ जना महासमिति सदस्य पनि छनोट हुनेछन्।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले भने प्रदेश सभा क्षेत्रीय कार्यसमिति र विभिन्न समावेशी वर्गसहितका प्रदेश प्रतिनिधिहरू छनोट गर्नेछ।
गत असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको काङ्ग्रेसको यो महाधिवेशन प्रक्रिया अन्तर्गत क्षेत्रीय अधिवेशन सकिएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment