अरनिको राजमार्ग पहिरोले पूर्ण अवरुद्ध: काठमाडौंबाट पूर्वी जिल्ला जोड्ने सडक सम्पर्क विच्छेद

डिसी नेपाल
११ असोज २०८३ १३:२२

रामेछाप। अविरल वर्षाका कारण धुलिखेल नजिकै भीषण पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल नगरपालिका-८ स्थित जिपलाइन नजिकै आज बिहान करिब ८:५५ बजे माथिबाट ठूला ढुङ्गा र माटोसहितको पहिरो खसेपछि यातायात ठप्प बनेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण सो सडकखण्ड भएर काठमाडौँ आवतजावत गर्ने साना तथा ठूला सबै सवारीसाधन बाटोमै रोकिएका छन्।

बीपी राजमार्ग विगत तीन दिनदेखि पहिरोकै कारण अवरुद्ध रहँदै आएकामा वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको अरनिको राजमार्गसमेत बन्द भएपछि काठमाडौँबाट काभ्रेको कोसीपारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

यसअघि बीपी राजमार्ग ठप्प भएपछि पूर्वी पहाडी तथा हिमाली जिल्ला जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै चल्दै आएका थिए। तर, धुलिखेलमै अरनिको राजमार्गसमेत थुनिएपछि काठमाडौँसँग पूर्वी नेपालको सडक सम्पर्क टुटेको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन डोजरसहितको टोली खटिए पनि निरन्तरको वर्षा र माथिबाट पुनः पहिरो खस्ने जोखिमका कारण पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *