सुदूरपश्चिममा न्यून चापीय प्रणाली कमजोर बन्दै: ठूलो वर्षाको जोखिम टर्दै

डिसी नेपाल
११ असोज २०८३ १३:५०

अत्तरिया। बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै गएपछि सुदूरपश्चिम प्रदेशमा ठूलो बाढीपहिरो र वर्षाको जोखिम टर्दै गएको छ।

अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार प्रदेशका अधिकांश क्षेत्रमा सामान्य वर्षा भइरहे पनि मौसम सुधारोन्मुख बन्दै गएको हो। असोज ९ गतेदेखि भइरहेको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको भए पनि ठूलो प्राकृतिक विपत्तिको जोखिम भने घट्दै गएको छ।

मौसम विज्ञान फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज दिउँसोदेखि न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहेको जानकारी दिए। यद्यपि, वर्षा निरन्तर भइरहेकाले जोखिम पूर्ण रूपमा नटरेकाले पूर्वसतर्कता भने अपनाउनुपर्ने उनको भनाइ छ।

फिल्ड कार्यालयका अनुसार आज दिउँसो तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि भने प्रदेशभर मध्यम खालको मात्रै वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति हिमाली, पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

आगामी बुधबारदेखि भने मौसममा थप सुधार आउने मौसमविद्ले जनाएका छन्। बुधबार प्रदेशका अधिकांश स्थानमा मौसम आंशिक बदली भई केही स्थानमा मध्यम वर्षा हुने र राति तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वाअनुसार अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *