एमाले कार्यदल बैठक विनानिष्कर्ष टुंगियो, हालसम्मका वार्तामा प्रगति नभएको प्रतिक्रिया
काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक केही समय बसेर सकिएको छ। साँझ साढे ७ बजे शुरु भएको बैठक केही समय बसेर सकिएको छ। तर, बैठकमा ओली समूहका कार्यदल सदस्य उपप्रधानमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद बैठकका कारण कार्यदलको बैठकमा अनुपस्थित भएपछि कार्यदलको बैठक विषयमा नै प्रवेश नगरी सकिएको कार्यदल सदस्य उपमहासचिब घनश्याम भुसालले जानकारी दिए।
उनले विगत १० दिनदेखिको वार्तामा कुनै पनि प्रगति नभएको भन्दै विवाद समाधानबारे आशंका व्यक्त गरेका छन्। उनले भने, ‘हामीले १० दिन अगाडि केही एजेण्डा तय गरेका थियौं। तर, १० दिन यता कुनै प्रगति भएको छैन। आज विषयमा नै प्रवेश भएन। भोलि फेरि बस्छौं।’
उता ओली पक्षीय कार्यदलका नेतृत्वकर्ता सुवास नेम्वाङले भोलि बस्ने बैठकले टुंगो लाग्ने दावी गरे। तर उनले पनि पछिल्ला १० दिनदेखि भएका वार्तामा कुनै प्रगति नभएको भुसालको भनाइमा सहमति जनाए। उनले शुक्रबार बस्ने बैठकले टुंगो लगाउने आशावादी रहेको बताए। उनले कार्यदलमा भएका सबैकुरा सार्वजनिक गर्न नसकिने बताए।
कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्रीका तर्फबाट नेम्वाङ, महासचिब विष्णु पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र विष्णु रिमाल छन् भने वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिब घनश्याम भुसाल, सचिब गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
एमालेमा वरिष्ठ नेता माधव समूहले समानान्तर गतिविधि गर्दै आएको छ। ओली सरकारविरुद्धको विपक्षी दलको गठबन्धनमा माधव नेपाल सहभागी हुँदै आएका छन्। प्रतिनिधिसभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा फैसला आउने क्रममा छ। एमालेमा त्यसअघि नै कुनै सहमति गर्ने प्रयास भइरहेको छ। तर, कुनै प्रगति भने भएको छैन। बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै वार्ता भए पनि कुनै सहमति जुट्न सकेको छैन। एमालेमा नेकपाकालिन विवाद सरेको हो।







डिसी नेपाल








Facebook Comment