सात घण्टासम्म चल्यो एमाले कार्यदलको बैठक, सहमतिको मस्यौदा तयार

डिसी नेपाल
२५ असार २०७८ २०:०८
1.4k
Shares

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानोन्मुख देखिएको छ। शुक्रबार दिनभर बसेको बैठकले सहमतिको मस्यौदा तयार गरेको छ। करिब ७ घण्टासम्म भएको छलफलपछि सहमतिको विन्दुमा पुगेको र मस्यौदा तयार भएको अध्यक्ष केपी शर्मा ओली निकट कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

उनले भने, ‘हामी सहमतिको विन्दुमा पुगेका छौं। फाइनल टच दिन बाँकी छ। केही भाषिक कुराहरु छन्। त्यसका लागि हामी फेरि भोलि बैठक बस्छौं।’ उनले के के सहमति भयो भन्ने विषयमा भने केही खुलाएनन्। सहमतिको मस्यौदामा अन्तिम रुप दिनुअघि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक छलफल गर्नेछन्। त्यसपछिमात्र मस्यौदालाई अन्तिम रुप दिइनेछ।

तर सहमतिको मस्यौदालाई अन्तिम रुप कार्यदलले नै दिने ज्ञवालीले जानकारी दिए।

शुक्रबार नै सहमति जुटाउने भन्दै दिउँसो करिब साढे १ बजे शुरु भएको बैठक पौने ८ बजेसम्म सिंहदरबारमा बसेको हो। बैठक निकै सकरात्मक, रचनात्मक रहेको कार्यदल सदस्य ज्ञवालीले जानकारी दिए। उनले एमाले कार्यकर्ताहरुमा पार्टी के हुने हो भन्ने चिन्ता रहेकोमा अब त्यो चिन्ता हटेकोसमेत दावी गरे।

एकाध विषयमात्र सहमति हुन बाँकी रहेको अन्य सबै विषयमा सहमति जुटेको वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए। उनले शनिबार बस्ने बैठकबाट सहमति हुने दावी गरे। उनले धेरै विषयमा सहमति जुटिसकेको र आज बैठक लामो भएकाले केही विषयमा छलफल हुन बाँकी रहेको बताए। उनले जसरी पनि पार्टी एकढिक्का बनाउने बताए।

नेकपाको आन्तरिक विवाद समाधवनका लागि गत जेठमा गठन गरिएको कार्यदल नयाँ सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटन र सर्वोच्च अदालतमा रिट प्रकणपछि निष्क्रिय भएको थियो। तर गत सोमबार फेरि कार्यदललाई सक्रिय बनाएर पार्टीको विवाद समाधानको प्रयास शुरु भएको थियो। त्यसयता लगातार कार्यदलको बैठक भइरहेको छ। योबीचमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचसमेत वार्ता भएको छ।

नेकपाकालिन विवाद एमाले र माओवादी केन्द्र ब्यूउँतिएसँगै एमालेमा सरेको थियो। गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाइृ ब्यूउँताएपछि अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक गरेर पार्टीलाई एकलौटी ढंगले अघि बढाएका थिए।

त्यसको विरोधमा माधव समूहले समानान्तर कमिटी बनाउँदै ओलीलाई चुनौति दिएको थियो। यतिमात्र होइन, माधव समूहले फ्लोर क्रस गरेर कर्णालीमा माओवादीको सरकार जोगाइ दियो भने काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थनसमेत गर्यो। र सर्वोच्चमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमा माधव समूहका २३ जनालेसमेत हस्ताक्षर गरेका छन्।

सर्वोच्चको फैसला आउनेक्रममा रहेका बेला एमालेको विवाद समाधानोन्मुख देखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.