देउवा इतर समूह सभापतिको एउटै उम्मेदवार बनाउन दृढ
काठमाडौं। काँग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीहरुबीच शुक्रबार अनौपचारिक छलफल भएको छ। सभापतिका आकांक्षीसमेत रहेका नेता अर्जुननरसिंह केसीको संयोजनमा सभापतिका आकांक्षी आधा दर्जनभन्दा धेरै नेताहरुको अनुपम फुडल्याण्डमा भएको अनैपचारिक छलफलले सभापति शेरबहादुर देउवा इतर समूहबाट एकमा सभापतिको उम्मेदवार बाउने निष्कर्ष किालेका छन्।
सो बैठकबारे नेता केसीले डिसी नेपालसँग भने, ‘हामीहरु एकमात्र उम्मेदवार बनाउने विषयमा एकमत भएका छौं। पार्टीलाई सुदृढ बनाउनु आजको आवश्यकता हो। हामी सबै त्यसमै केन्द्रित हुन्छौं। यसप्रकारका छलफल निरन्तर हुनेछन्।’
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी थिए।
उनीहरुले सबैले सभापति देउवासँग लड्न एउटै उम्मेदवार बनाउने विषयमा सहमति जनाएका छन्। तर उम्मेदवार को भन्ने विषयमा भने छलफल नभएको नेताहरुले बताएका छन्। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ सुजाता कोइरालाले संस्थापन इतर समूहबाट एउटैमात्र उम्मेदवार हुनेमा आफू विस्वस्थ रहेको बताएकी छन्।
सभापति देउवाले फेरि उम्मेदवारी दिने घोषणा गरेर छलफललाई तिब्रता दिएका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेर छलफल चलाइरहेका छन्।
तर, संस्थापन इतर समूहमा भने सभापतिका आकांक्षी आधा दर्जन देखिएपछि कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्। तर, तीन पटकसम्म उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच लन्च मिटिंग भएको थियो। सो लन्च मिटिंगले काँग्रेसमा तरंग ल्याए पनि वरिष्ठ नेता पौडेलले सो मिटिंगबारे असन्तुष्टि पोखेपछि अहिले सो तीन नेताको गठबन्धन बन्ने विषय नै सेलाएको छ।







डिसी नेपाल








Facebook Comment