ढुङ्गा फुटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी

डिसी नेपाल
२७ असार २०७८ २३:०१
56
Shares

दमौली । शनिबार बिहान ४ बजेदेखि एकतर्फी रुपमा सञ्चालित पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा ठूलो ढुङ्गाको पहिरा खसेपछि एकतर्फी सञ्चालनमा रहेको उक्त ठाउँको ढुङ्गा सहितको पहिरा आज साँझ ५ः४० मा सफा गरिएको हो ।

ठूलो चट्टान ढुङ्गा फुटाई सडक सफा गरेपछि राजमार्ग दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “अब राजमार्गमा कुनै अवरोध छैन”, प्रनाउ तिमिल्सिनाले भने । यसअघि यस ठाउँमा खसेको ढुङ्गाले राजमार्ग एकतर्फी हुँदा कयौँ सवारीसाधन बेलाबेलामा रोकिन पुगेका थिए ।

डाइभर्सनबाट यातायात सञ्चालन

तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखालामा डाइभर्सन निर्माण गरिएपछि सवारी वारपार शुरु भएको छ । पक्की पुल बाढीले भत्काएको ११ दिनपछि उक्त ठाउँबाट यातायात सञ्चालनमा आएको हो ।

व्यास नगरपालिकाले बनाएको ह्युम पाइपमार्फत आज सवारी साधन सञ्चालन भएको स्थानीयवासी यामबहादुर आलेले जानकारी दिए । “तत्कालका लागि अस्थायी रुपमा भने पनि सवारी सञ्चालन गर्ने सक्ने भएको छ, भोलिबाट बेलिब्रिज निर्माण शुरु हुन्छ”, उनले भने । बाढीले पुल भत्काएपछि यस भेगका सर्वसाधारणले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.