जसपामा उपेन्द्रको शक्ति बढेपछि देउवालाई झन सहज, माधव समूहले पनि समर्थन गर्ने सम्भावना
फाइल तस्वीर
काठमाडौं। सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै शपथ ग्रहणसमेत गराइसकेकी छन्। देउवाले सोही दिन सानो आकारको मन्त्रिपरिषद पनि विस्तार गरेका छन्। र सर्वोच्चकै फैसला र संविधान अनुसार देउवाले साउन २९ गते भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ।
अहिले सरकारमा काँग्रेस र माओवादी छन्। राष्ट्रिय जनमोर्चाले बाहिरबाट समर्थन गर्ने निर्णय गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभा अहिले २७१ सदस्यीय छ। ती मध्ये पनि ४ जना सांसदले संसद बैठकमा भाग लिन पाउँदैनन्। ती चारजना मध्ये २ काँग्रेसका हुन् भने दुई जसपाका।
त्यसैले देउवालाई विश्वासको मतका लागि कम्तिमा १३६ जना सांसदको आवश्यकता पर्छ। काँग्रेसका ६३ मध्ये ६१ जनालेमात्र मत दान गर्न पाउँछन् भने माओवादी केन्द्रका ५० मध्ये अग्नि सापकोटा सभामुख भएकाले उनले मतदान गर्न पाउँदैनन्। त्यसैले अहिलेको सरकारसँगमात्र ११० सिट छ। एक जनमोर्चाको सिट जोड्दा यो गठबन्धनसँग १११ सिट छ।
जनता समाजवादी पार्टीको उपेन्द्र समूहले पनि सरकारलाई समर्थन गरेका छ। तर उसको सिट संख्या यकिन भइसकेको छ। उता देउवालाई समर्थन गरेका एमालेको माधव समूहका २६ मध्ये ३ जनाले सर्वोच्चमा मुद्दा दायर गर्दा हस्ताक्षर गरेनन्। सर्वोच्चको मुद्दामा हस्ताक्षर गरेका २३ जना मध्ये केही देउवा सरकारलाई भन्दा एमालेको एकतामा केन्द्रित हुनुपर्ने बताउन थालेका छन्। जसले गर्दा माधव समूहले के निर्णय गर्छ त्यो भने बाँकी छ।
तर, देउवा प्रधानमन्त्री बनेसँगै उनको पक्षमा माहोल भने तयार हुँदै गएको छ। गत सोमबारको कोटेश्वरमा भएको तत्कालिन विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले अब आफू विपक्षी गठबन्धनमा नरहने बताएका थिए। त्यसपछि माधव समूहले देउवालाई विश्वासको मतमा समर्थन नगर्ने सम्भावना देखिएको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेकै दिन बुधबार बालकोटमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए। उनको यो भनाइसँगै माधव समूहमा देउवालाइृ समर्थन गनुपर्छ भन्ने विचार बढेको छ।
माधव समूहका नेता मेटमणि चौधरीले शनिबार दाङको लमहीमा माधव समूह निकटका नेताहरुसँगको छलफलमा आफूहले देउवा सरकारलाई समर्थन गर्ने र सरकारमा पनि जान सक्ने बताएका छन्। यस्तै माधव समूहका सांसदहरु विरोध खतिवडा, जगनाथ खतिवडा, रामकुमार झाँक्री, कल्याणी खड्कालगायतहरु देउवालाई समर्थन गर्नुपर्ने अडानमा छन्।
सर्वोच्चले गत सोमबारको फैसलामा धारा ७६ को उपधारा ५ बमोजिम बनेको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय सांसदले व्यक्तिगत रुपमा गर्न पाउने र पार्टीको ह्वीप नलाग्ने व्याख्या गरेपछि माधव समूहले देउवालाई समर्थन गर्ने सम्भावना बलियो भएको हो। किनकी देउवालाई समर्थन गरेकै भरमा उनीहरुमाथि कारबाही गर्न नपाइने सर्वोच्चको व्याख्याले व्यवस्था गरिदिएको छ।

उपेन्द्रको शक्ति बढ्यो
उता देउवाको समर्थनमा रहेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहको झन शक्ति बढेको छ। देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै राष्ट्रपति समक्ष पेश गरिएको दावी पत्रमा जसपाका मात्र १२ जना सांसदको हस्ताक्षर थियो। अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष्मा २० जना सांसद देखिएका थिए।
तर, ओलीको बर्हिगमन र देउवाको उदयले जसपामा ठाकुरलाई त्याग्नेहरुको संख्या बढ्न थालेको छ। शनिबार बसेको उपेन्द समूहको संसदीय दलको बैबठमा १८ जना सांसद उपस्थित रहेको सो समूहका नेताले दावी गरेका छन्। अझै थप सांसदहरु पनि यो समूहमा आउन सक्ने चर्चा छ।
माधव समूहमा बढेको दबाब र जसपामा उपेन्द्रको बढेको शक्तिले देउवालाई सहज बनाउने विश्लेषण हुन थालेको छ। काँग्रेस, माओवादी केन्द्र र राजमो गरी १११ सिट रहेको गठबन्धनमा जसपाका १८ थपिँदा १२९ सिट हुन्छ। अब यो गठबन्धनलाई बहुमत पुर्याउन माधव समूहका कम्तिमा ७ जना सांसद आवश्यक पर्छन्।
माधव समूहमा देउवालाई समर्थन गर्नुपर्ने लाइनमा बहुमत रहेकाले माधव समूहले देउवाको समर्थनमा सामुहिक निर्णय गर्न सक्ने सम्भावना बढेको छ।
यद्यपी पार्टीको विवाद समाधान गर्ने भन्दै उपाध्यक्ष भीम रावललगायतका स्थायी कमिटी सदस्यहरु ओली समूहसँग निरन्तर छलफलमा रहेकाले माधव समूहले समर्थन नगर्ने निर्णय पनि हुन सक्छ।







डिसी नेपाल







Facebook Comment