बर्खास्त भएपछि पुनर्बहालीको माग गरेका ४ पूर्वसांसदको रिट हेर्न नभ्याइने

डिसी नेपाल
१४ साउन २०७८ १६:३३

काठमाडौं। माओवादी केन्द्रको कारवाहीमा परेर बर्खास्त भएका ४ पूर्वसांसदले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएका चारवटै रिटको सुनुवाइ हेर्न नभ्याइएको हो ।

नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले भएको आरोपमा माओवादीले कारवाही गरेर उनीहरुलाई सांसद पदबाट बर्खास्त गराएको थियो । यी पूर्वसांसदले पुनः माओवादीकै सांसदको हैसियत पाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो ।

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले पुरानै हैसियतमा अस्तित्वमा आउने फैसला गरेपछि यी ४ सांसद माओवादीमा नगइ एमालेमै बसेका थिए । माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिइसकेपछि यी ४ जना मन्त्री समेत बनेका थिए । तर, उनीहरुलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनीहरुको मन्त्री पद समेत गुमेको थियो ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार आफूहरु माओवादी नै रहेकोले आफ्नो सांसद पद पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आज उनीहरु चारैजनाको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले दिएको दल त्यागको सूचनाको आधारमा उनीहरुको सांसद पद गुमेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *