देउवा भन्छन्-महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ ! तर कहिले?

सम्भव सिंह ठकुरी
१५ साउन २०७८ १४:००

काठमाडौं। नेपाली कांग्रेसको ०७२ सालमा भएको १३ औँ महाधिवेशनको चार वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसयता विधानले दिएको अधिकार अनुसार अतिरिक्त एक वर्षको कार्यकाल थप्न पाउने सुविधा कांग्रेसले प्रयोग गरिसकेर पनि अहिले राजनीतिक दल सम्बन्धी धारा २६९ को उपधारा ४ (ख) को व्यवस्था अनुसार ६ महिना समय थप गरेर भदौमा अधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यतामा छ।

कार्यतालिका अनुसार केन्द्रीय अधिवेशन गर्न १ महिनामात्र बाँकी रहेको अवस्थामा साउन १२ गते तोकिएको वडा अधिवेशन प्रभावित भइसकेको छ। बिगतको नजिर हेर्दापनि सबैभन्दा पेचिलो बनेको क्रियाशील विवाद् यो अधिवेशनमा पनि क्रियाशील विवाद् कै कारण अधिवेशन अनिश्चित बनेको छ।

१४ औँँ महाधिवेशनको संघारमा पुगेको कांग्रेसको लागि क्रियाशील विवादसँगै कोरोना भाइरसपनि अर्को चुनौती बनेको छ। रमेश लेखकको संयोजकत्वमा बनेको क्रियाशील विवाद् छानबिन समितिलेपनि देशका विभिन्न भागका सय भन्दा धेरै वडाहरु र धनुषा ४ नम्बर क्षेत्र,सर्लाही २ नम्बर क्षेत्रमा पनि नयाँ सदस्यताका सन्दर्भमा सहमति हुन सकेको छैन।

यस्तै कांग्रेसमा समाहित भएका विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाका सुनील थापा समूहका सन्दर्भमा पनि विवाद कायमै छ। तर बुधबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा भदौ १६ मा अधिवेशन हुन्छ, हुन्छ, हुन्छ भनेर देउवाले दावी गरे।

एक महिनामात्र बाँकी रहेको समयमा वडा तहसम्मको अधिवेशनको प्रक्रियासम्म हुन नसकेको बेला केन्द्रीय अधिवेशन हुन्छ,कसरी र कहिले? कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतका अनुसार भदौ १६ भित्र नै वडा अधिवेशन सम्पन्न हुन्छ। तर केन्द्रीय अधिवेशन भने असोज अन्तिमसम्म पुग्नसक्छ।

संघीय संरचना अनुसार पहिलो पटक हुनलागेको यस अधिवेशनमा वडा तह देखि सातवटै प्रदेशमा अधिवेशन, (गाउँ–नगर) पालिका अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनेछ ।

सुनसान जिल्ला

केही साता अघिसम्म जिल्लादेखि केन्द्रसम्मका आकांक्षीहरूको सक्रियता चुलिएको थियो। तर वडा अधिवेशननै प्रभावित भएपछि यो क्रम सेलाएको छ। नुवाकोट जिल्ला सभापति जगदिश्वरनर सिंह केसीका अनुसार पनि जिल्ला तिर अधिवेशनको रौनक कम भएका छ।

‘केही सातासम्म वडा तहदेखि जिल्लासम्म राम्रो सरगर्मी बढेको थियो तर १२ गतेको वडा अधिवेशननै स्थगित भएपछि रौनक हटेको छ’ उनले भने।

केसीले अगाडि भने, ‘अहिले दल सम्बन्धी धारा २६९ को उपधारा ४ (ख) को व्यवस्था अनुसार ६ महिना समयको सुविधापनि प्रयोग हुँदै आएकोे हुँनाले भदौभित्र जसरीपनि अधिवेशन सम्पन्न गर्नैपर्ने हुन्छ। त्यसकारण संविधानको धारा भन्दा माथि मेरो पार्टीपनि छैन र अरु पार्टीपनि छैन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *