सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री, गठबन्धनको बैठक बस्दै

डिसी नेपाल
१७ साउन २०७८ १३:५८
288
Shares

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको तीन साता बित्दासमेत शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्। आफ्नै दल र गठबन्धनमा आवद्ध दलले मन्त्री छान्न नसकेपछि सरकारले पूर्णता पाउन नसकेका हो।

२९ गते आफूसँगै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बिस्तार गरेका देउवाले गत आइतबार कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपनि पूर्णमन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन्।

चार दलीय गठबन्धन र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले विस्वासको मतपाएपनि मन्त्री टुङ्ग्याउन सकस परेको छ। यसो त मन्त्री टुङ्ग्याउने विषयमा देउवालाई जति सकस छ त्यति नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई समेत सकस परेको छ।

साउन १० गते अध्यक्ष प्रचण्ड आफू तनाबमा रहेको र पार्टीका ४९ जना नै मन्त्री बन्ने आकांक्षी भएकाले आफू अफ्टेरोमा परेको बताइुकेका छन्। कांग्रेसबाट मन्त्री भएका गृहमन्त्री बालकृष्ण खाँड, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ देउवा निकटका हुन्।

संस्थापन इतरका रामचन्द्र पौडेल पक्षले उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएको छ। नेता कृष्णप्रसाद सिटौला पनि आफ्नो भागको मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका छन्। तर यो विषयमा सहमति भने जुट्न सकेको छैन।

माधव नेपाल समूहले यस अघि नै आफू तत्काल सरकारमा सहभागी नहुने र पार्टी एकतालाई जोड दिने बताएपनि पार्टी भित्रको तीब्र असन्तुष्टिका कारण नेपाल पक्षीय सांसद मेटमणि चौधरीले राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै आफूहरु ६ ओटा मन्त्रालय लिएर देउवा सरकारमा जाने र नयाँ पार्टी खोल्नसक्ने कुरा स्पष्ट पारिसकेका छन्।

यसरी गठबन्धनमा सहभागी माधव समूह पनि सरकारमा आउने भएमा भागबण्डा अझ जटिल बन्नेछ। अहिले कांग्रेसले ८ तथा माओवादी र जसपाले ७–७ मन्त्रालय लिने सहमति बनेको छ।

जसपाको आधिकारीकता उपेन्द्र यादव समूहले पाएपछि शनिवार बसेको संसदीयदलको बैठकले यादवलाई नै संसदीयदलको नेता चयन गरेको छ। केही समय अघि नै जसपाले डा.बाबुराम भट्टराई,उपेन्द्र यादव र अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएपनि सार्थकता पाउन सकेको छैन।

प्रधानमन्त्री निकट कांग्रेस नेताका अनुसार आज दिनभर गठबन्धनका सबै नेताहरुसँग परामर्श गरेर आज र भोलिसम्म मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइराखेको छ।

‘माधवजीहरुलाई पनि सरकारमा ल्याउने प्रयासमा छौँ, त्यसकारण आज सत्ता गठबन्धनको सबै नेताहरुसँग छलफल गरेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीमा छ’, उनले भने।

जसपाका सांसद प्रदीप यादवपनि सत्तागठबन्धनको आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकपछि जसपाको मन्त्री टुङ्गो लाग्ने बताए।

उनले भने, ‘गठबन्धनले पाउने मन्त्रालयको छिनोफानो आजको बैठकले निर्धारण गर्न सक्छ। त्यसपछि हाम्रो पार्टीको कार्यदलले मन्त्रीहरुपनि चाडै टुङ्ग्याउछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.