एमालेको विधान महाधिवेशन भदौ २७ र २८ मा हुने

डिसी नेपाल
१७ साउन २०७८ १९:१०

काठमाडौं। नेकपा एमालेको स्थानीय तहको अधिवेशन आगामी असोज दोस्रो हप्तासम्म हुने भएको छ। आइतबार सम्पन्न एमाले स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता सबै वडा अधिवेशन सक्ने र दोस्रो हप्ता सबै स्थानीय तहको अधिवेशन सक्ने निर्णय गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान महाधिवेशनको मिति पनि तय गरेको छ। विधान महाधिवेशनको मिति यसअघि तोकिए पनि त्यसलाई मान्यता दिइएको थिएन। आइतबार विधान महाधिवेशनको नयाँ मिति तोकिएको हो। बैठकले भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।

बैठकले विधान महाधिवेशनका लागि नेताहरुको जिम्मेवारी पनि तोकेको छ। राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवारी अध्यक्ष ओलीलाई, महासचिव ईश्वर पोखरेललाई पार्टीको संगठनात्मक प्रस्तावको मस्यौदा बनाउने जिम्मेवारी, सांगठनिक प्रतिवेदन लेखनको जिम्मेवारी उपमहासचिब विष्णु पौडेलललाई र महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई दिइएको छ।

यस्तै बैठकले दार्चुलामा भएको तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको निन्दा गर्दै सो घटनाबारे सत्यतथ्य नेपाली जनता सामु सार्वजनिक गर्न माग गरिएको छ। यस्तै दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *