२० दिनसम्म पनि पाएन देउवा सरकारले पूर्णता, सत्तारुढ गठबन्धनमा मन्त्रीका दर्जनौं अकांक्षी

डिसी नेपाल
१७ साउन २०७८ २०:३४

काठमाडौं। ओली सरकारलाई विस्थापित गरेर काँग्रे सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ ग्रहण गरेको आइतबार २० दिन पुगेको छ। असार २९ मा देउवाले आफूले पद तथा गोपनीयताको शपथ ग्रहरणपछि मन्त्रिपरिषदमा थप ४ जनालाई सिफारिस गरेका थिए। सोही दिन काँग्रेसबाट गृह मन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की तथा सत्तारुढ घटक माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले शपथ ग्रहण गरे।

माओवादी, जसपा, राजमो र एमालेको माधव समूहको समर्थनमा बनेको काँग्रेस नेतृत्वको देउवा सरकारले छिटै मन्त्रिपरिषदलाई पूर्णता अपेक्षा गरिए पनि यो सानो आकारको सरकारले २० दिन गुजारेको छ। कोरोना संकटको बेला स्वास्थ्य मन्त्रालयसमेत लामो समय राजनीतिक नेतृत्वविहीन रह्यो। यही साउन १० गते काँग्रेसका उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

सरकार गठन भएको तेस्रो हप्तासम्म मन्त्रिपरिषदले पूर्णता नपाएपछि चौतर्फी विवादपछि ओली सरकारलाई विस्थापित गरेको देउवा सरकारले कुन दिशा समात्छ भन्ने नै अन्यौल भएको छ। त्यसमाथि मन्त्रिपरिषद विस्तारमै लामो समय बिताएपछि देउवा सरकारप्रति पनि सकरात्मक धारणा नबन्ने जोखिम बढेको छ। त्यसो त श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि देउवाको तिब्र आलोचना भएको छ।

माधव समूहकै मन्त्रिपरिषद विस्तारमा ढिलाइ?

मौजुदा संविधानले मन्त्रिपरिषद २५ सदस्यीयभन्दा ठूलो बनाउन दिँदैन। हाल मन्त्रिपरिषमा ६ जना छन्। त्यसैले अब बढिमा १९ जनाले मन्त्री बन्ने अवसर पाउने छन्। र यो १९ जना काँग्रेस, माओवादी केन्द्र र जसपाबाट छनौट हुनेछन्। एमालेको माधव समूह पनि सरकारमा सहभागी हुने देखिए त्यसमा माधव समूह पनि भाग लाग्नेछ।

खासगरी माधव समूहमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा सहमति नभएकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको प्रधानमन्त्री देउवा निकट स्रोत बताउँछ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव समूहलाई सरकारमा आउन पटक पटक आग्रह गरिसकेका छन्। तर, नेता नेपालले यो विषयमा ठोस जवाफ दिएका छैनन्। माधव समूहमा देउवा सरकारलाई विश्वासको मत दिएका २२ जना सांसदहरु मध्ये केही सरकारमा जानुपर्ने पक्षमा छन् भने माधव समूहमा रहेका दोस्रो तहका एमाले नेताहरु भने सरकारमा सहभागीको विपक्षमा छन्। त्यसैले नेता नेपालले सरकारमा सहभागीको विषयमा निर्णय लिइसकेका छैनन्।

माधव समूहका नेताहरु मेटमणि चौधरी, रामुकमारी झाँक्री, विरोध खतिवडालगायतहरु सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन्। तर अरु नेताहरु भने विपक्षमा छन्। दल विभाजन नगरी माधव समूह सरकारमा जाँदा उनीहरुको सांसद पद खारेज हुने सम्भावना रहेकाले अहिले माधव समूह सरकारमा सहभागी हुने सम्भावना देखिएको छैन। त्यसमाथि पार्टीको विवाद मिलाउन भन्दै नेताहरु वार्ता र छलफलमा निरन्तर रहेकाले पनि माधव समूह सरकारमा आउने सम्भावना सकिँदै गएको छ।

आइतबारको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधव समूह सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका छन्।

मन्त्रीका दर्जनौं आकांक्षी

माधव समूह सरकारमा सहभागी नहुने पक्का भएपछि गठबन्धनका तीन दलबीच मन्त्रालय र मन्त्रीको भागबण्डा टुंगो लाग्ने छ। काँग्रेसबाट तीनजना मन्त्री भइसकेकाले अब सो दलबाट बढीमा ५ जना मन्त्री बन्नेछन्। यस्तै माओवादी केन्द्रबाट २ जना मन्त्री भइसकेकाले सो दलबाट पनि बढिमा ५ जना मन्त्री बन्नेछन्। उता जसपाबाट ७ जना मन्त्री बन्ने सम्भावना छ।

यी तिनवटै दलमा मन्त्रीका आकांक्षी भने थेगिनसक्नु रहेका छन्। केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलका ४९ जना सांसहरु नै मन्त्रीको आकांक्षी भएकाले आफू तनावमा परेको बताएका थिए।

माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, बिना थापा मगर, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, देव गुरुङ, अमनलाल मोदीलगायतका नेताहरु मन्त्रीका आकांक्षी छन्। यस्तै काँग्रेसमा सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्र प्रसाद बडु, पुष्पा भुसाल, उमाकान्त चौधरी, भिमसेनदास प्रधान, प्रकाश स्नेही, तेजुलाल चौधरी, मीन विश्वकर्मालगायतका मन्त्रीका आकांक्षी छन्। काँग्रेसका एक नेताले भने, ‘मन्त्रीका आकांक्षी आ आफ्नो गुटका नेताहरुका धाइरहेका छन्। बुढानिलकण्ठ, बोहोराटार धाउनेहरुको संख्या निकै धेरै छ।’

उता जसपामा पनि मन्त्री बन्न चाहनेहरुको संख्या निकै छ। अध्यक्ष उपेन्द्र यादव, प्रदीप यादव, मो. इस्तियाक राई, सीतारम अग्रहरीलगायतका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *