‘भीम रावल वा घनश्यामको नेतृत्वमा सरकारमा जान्छौं’

डिसी नेपाल
१८ साउन २०७८ १०:११

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहमा सरकारमा सहभागी हुने विषयमा दबाब बढ्दै गएको छ। माधव समूहमा रहेका एमालेका दोस्रो तहका नेताहरु सरकारमा सहभागी हुन नहुने र प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरु सरकारमा सहभागी हुनुपर्ने अडानमा हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल चेपुवामा परेका छन्।

दोहोरो चेपुवामा परेका नेता नेपाल अन्ततः सरकारमा सहभागी हुने मनस्थितिमा पुगेको केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले बताए। उनले केही समय कुरेर आफूहरु सरकारमा जाने निश्चित भएको दावी गरे।

उनले आफ्नो तर्फबाट सरकारको नेतृत्व एमाले उपाध्यक्ष भीम रावल अथवा उपमहासचिब घनश्याम भुसाल गर्ने सम्भावना रहेको उनले बताए।

विवाद समाधानका लागि गठन गरिएको कार्यदलका सदस्यहरुले सरकारमा जाने विषयमा हतार नगरौं भन्ने प्रस्ताव गरेकाले सरकारमा जान ढिलाइ भएको चौधरीको भनाइ छ। उनले आफूहरु सरकारमा जानु अनिवार्य भएको बताए।

‘सरकारलाई बलियो बनाउन पनि हामी सरकारमा सहभागी हुन आवश्यक छ,’ चौधरीले डिसी नेपालसँग भने, ‘सरकारको नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म हाम्रो सहभागीता अनिवार्य छ।’

उनले सात वटा कै हाराहारीमा मन्त्रालय पाउने तय भएपनि कुन कुन मन्त्रालय भन्ने विषयमा टुंगो लागिनसकेको उनको भनाइ थियो। अहिले कार्यदलमा रहेका सदस्यले एकतको पहल जारी रहेकाले सरकारमा जाने विषयमा हतार नगरौं भनेकाले केही ढिला भएको उनको भनाइ छ।

माधव समूहले स्पष्ट निर्णय दिन नसक्दा देउवा सरकारले पूर्णता पाउन सकेको छैन। देउवा प्रधानमन्त्री भएको सोमबार २१ दिन पुगिसकेको छ। तर, सरकार भने ६ सदस्यीय मन्त्रिमण्डलले चलाइरहेको छ।

मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको गति सुस्त भएको भन्दै देउवा सरकारको आलोचनासमेत शुरु भइसकेको छ। तर, माधव समूहले स्पष्ट निर्णय सोमबारसम्म दिएको छैन।

प्रधानमन्त्री देउवाले पटक पटक भेटेर वरिष्ठ नेतालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। तर, नेता नेपालले भने स्पष्ट जवाफ दिन सकेका छैनन्।

उता सत्तारुढ गठबन्धनका माओवादी केन्द्र र जसपाले पनि मन्त्रीको टुंगो लगाउन सकेका छैनन्। माधव समूह सरकारमा जाने वा नजाने निश्चित नभएकाले उनीहरुले पनि मन्त्री बन्नेको सूची बनाउन सकेका छैनन्।

एमाले सांसद तथा केन्द्रीय सदस्य चौधरीले अब एमाले एक रहने सम्भावनासमेत नरहेको दावी गरे। उनले भने, ‘एमालेमा ओलीले बाटो बन्द गर्नु भएको छ। नयाँ दल स्थापना नगरी भएन। सरकारमा पनि जानै पर्यो।’ तर नयाँ पार्टी स्थापनाका विषयमा कानुनविद्हरुसँग परामर्श भइरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *