माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छः मनिष सुमन

डिसी नेपाल
१८ साउन २०७८ १७:३६

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा २ नम्बर प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । उहाँहरुले निर्णय गर्नुहुन्छ ।’

नेता सुमनले सत्तापक्षीय गठबन्धनले छोटो छरितोमा सरकारको लागि साझा कार्यक्रम ल्याउनेपनि बताए । उनले भने,‘हामीले लामो कार्यक्रम ल्याउँदैनौं । साझा कार्यक्रम बुलेट प्वाईन्टमा आउँछ ।’ उनले सरकारले कोरोनामुक्त नेपाल बनाउनुपर्ने बताउँदै त्यसको लागि सबैलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए । त्यस्तै, आगामी निर्वाचन पनि यो सरकारको काँधमा भएकोले सोहीअनुसार काम गर्नुपर्ने दायित्व रहेको सुमनले सुनाए ।

उनले आफूहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगमनकारी कदमको विरुद्धमा कांग्रेस, माओवादी केन्द्रसँगै एउटै कित्तामा उभिएको र प्रतिगमनलाई अन्ततः परास्त गर्न सफल भएको सुनाए । उनले भने,‘हामी पनि यो सरकारमा जान्छौं भनेर निर्णय गरिसकेका छौं । अब को को मन्त्री बन्ने भन्ने कुरा त समावेशी र समानुपातिक प्रतिनिधित्व गरेर पठाउँछौं ।’ उनले अहिले कतिवटा मन्त्रालय पाउने भन्नेबारे निक्र्यौल नभएको पनि सुनाए । उनले भने,‘अहिले सरकारमा सहभागिताको विषयमा माधव नेपाल समूहको पोजिसन क्लियर भएको छैन्, उहाँहरुको पोजिसिन क्लियर भएपछि त्यो टुँगो लाग्ला । तर, माधव नेपालले जे निर्णय गरेपनि स्वागतयोग्य नै हुन्छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *