लकडाउन नगरेको, ‘मास्क फ्रि’ घोषित भइसकेको देशमा दैनिक कोरोना मृत्यु शुन्यमा झर्दै
काठमाडौं। छिमेकका अरु सबै देशले कोरोनाभाइरस संक्रमण फैलिन नदिने भन्दै देशव्यापी लकडाउन गरिरहेका बेला लकडाउन नगरी अगाडि बढेको र अहिलेसम्म मास्क फ्रि समेत घोषित भइसकेको देश अब कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु पनि शुन्यमा झार्ने नजिकै पुगेको छ । युरोपेली देश स्वेडेनले कहिल्यै पनि लकडाउन गरेन र महामारीको उच्चतम विन्दुमा समेत सार्वजनिक ठाउँमा मास्क लगाउन मात्र आग्रह गरेको थियो । यो देशले जुलाइ १ मा मास्क लगाउनुपर्ने अनिवार्यता अन्त्य गर्दै आफूलाई मास्क फ्रि घोषित गरेको थियो ।
यो देशका प्रमुख महामारी विशेषज्ञले जनतामा पछिल्लो पटक फैलिएको डेल्टा भेरिएन्टको त्रास घटाउन महत्वपूर्ण भूमिका खेलेका छन् । पछिल्लो १४ दिनमा स्वेडेनमा दैनिक कोभिडका कारण हुने मृत्यु ०.६ मात्र छ अर्थात यहाँ दैनिक १ जनाको पनि मृत्यु भएको छैन । जबकि अमेरिकामा अहिले दैनिक मृत्यु ३२९ र बेलायतमा ७४ छ । हुन त स्वेडेनमा अहिलेसम्म भएका मृत्युको प्रतिशत केही छिमेकीहरुको भन्दा बढी छ । डेनमार्कमा २ हजार ५५०, फिनल्याण्डमा ९८२, नर्वेमा ७९९ मृत्यु हुँदा स्वेडेनमा १४ हजार ६२० मृत्यु भएको छ ।
गएको अप्रिलमा देशका राजाले देशको लकडाउन नगर्ने नीतिको कडा आलोचना गरेका थिए । राजा कार्ल १६ औं गुस्ताफले सरकारी टेलिभिजन एभीटीसँग एक अन्तरवार्तामा स्वेडेनमा भएका मृत्यु ‘भयानक’ भन्दै देशका जनताले अत्यन्तै दुःख पाएको बताएका थिए । विश्वका अन्य देशहरुभन्दा फरक रहेर स्वेडेनले परम्परागत विधिबाट अलग्गिँदै पूर्ण लकडाउन नगर्ने नीति लिएको थियो । देशले ‘हर्ड इम्युनिटी’ हासिल गर्ने अपेक्षामा स्वयंसेवी मापदण्डमा निर्भर रहेको थियो । हर्ड इम्युनिटी भन्नाले कुनै पनि महामारी फैलिन नदिन देशका पर्याप्त जनतामा त्यो संक्रमण प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई बुझिन्छ ।
द सनको रिपोर्टअनुसार स्वेडेनले गएको जनवरीमा संक्रमणको दोस्रो लहरका बेला एक महिनाका लागि उच्च माध्यमिक स्कुलहरु बन्द गरेको थियो र यो देशले गरेको एकमात्र कडाइ यत्ति हो । स्वेडेनका प्रमुख महामारी विज्ञ आन्द्रेस टेग्नेलले कोरोनाभाइरसको डेल्टा भेरिएन्टलाई पनि स्वेडेनमा दबाउन सकिने बताएका छन् । ‘यो भेरिएन्ट कत्तिको घातक छ भन्ने हामीलाई अहिल्यै थाहा छैन तर हामी यो रोगसँग अझै केही वर्ष लड्नको लागि सक्षम भएका छौं’ उनले भने ।







डिसी नेपाल







Facebook Comment