१४ वर्षकी छोरीका १७ लाख फलोअर थिए, आमालाई रिस उठेपछि अकाउन्ट नै डिलिट गरिदिइन्
काठमाडौं। पछिल्लो दशक इन्टरनेट र सामाजिक संजाल सबैभन्दा लोकप्रिय संचारको माध्यम बनेको छ । कैयौं मानिसहरुले सामाजिक संजालको माध्यमबाटै आफ्नो क्षमता देखाएर नाम र दाम कमाउन सफल भएका छन् । सामाजिक संजालका केही नोक्सानीहरु पनि छन् र सम्भवतः यी नोक्सानीहरुलाई ठूलो देखेर एक महिलाले निकै कडा कदम उठाएकी छिन् ।
ब्राजिलकी १४ वर्षकी भ्यालेन्टिना सामाजिक संजालमा निकै लोकप्रिय थिइन् । टिकटक र इन्स्टाग्राममा उनका १७ लाख फलोअर थिए । भ्यालेन्टिनाले सामाजिक संजालमा धेरै समय बिताउन थालेपछि उनकी आमा फर्नान्डा रोचा कन्नेरलाई मन परेन । त्यसपछि उनले सामाजिक संजाललाई अस्वस्थकर भन्दै छोरीका सामाजिक संजाल खाता नै डिलिट गरिदिइन् ।

फर्नान्डाले एक स्थानीय मिडियासँग कुरा गर्दै भनिन् ‘जब तपाइँ १४ वर्षको हुनुहुन्छ त्यतिबेला तपाइँ के गर्न चाहनुहुन्छ, जीवन कसरी बिताउन चाहनुहुन्छ यसको अन्दाज निकै कम हुन्छ । तर जब तपाइँको जीवनमा २ मिलियन यस्ता मान्छेहरु हुन्छन् जोसँग तपाइँले कहिल्यै भेटेनुभएको छैन तर उनीहरु तपाइँलाई चिन्छु भन्ने सोच्छन् भने हालत अझै खराब हुन्छ । यस्तोमा मानिस आफैंलाई गुमाउने अवस्थामा पुग्छ ।’
डेलीमेलका अनुसार फर्नान्डाले छोरीको खाता लगइन गरेर हेरेकी थिइन् । त्यहाँ ३० सेल्फीहरु र डान्स देखेपछि उनले अब उनको खाता डिलिट गर्ने समय आएको महसुस भएको बताइन् । उनले यो निकै कडा फैसला भए पनि जरुरी भएको बताइन् । उनले भनिन् ‘म चाहन्नथें कि मेरी छोरी ठूलो भएपछि इन्स्टाग्रामको कुनै पात्रजस्तो अभिनय गरुन् वा बाँदरजस्तै केही सेकेण्ड नाचेर आफ्ना फलोअर बढाउन् । म चाहन्नथें कि उनी चीन वा कुनै यस्तै देशको कपडाको ब्राण्डको विज्ञापन गरुन् ।’







डिसी नेपाल







Facebook Comment