फेरि बेलायतबाट दौडिएर काठमाडौं आउँदैछिन् ७४ वर्षकी महिला, बेलायतको सीमामा आइपुगिन्

डिसी नेपाल
२३ साउन २०७८ १६:५५
29.7k
Shares

काठमाडौं। बेलायतबाट दौडिएर काठमाडौं आउन भनेर हिँडेकी ७० वर्षमाथिकी एक महिलाको अभियान डेढ वर्षअघि रोकियो । पूरै युरोप पार गरेर एसियामा प्रवेश गरिसकेकी उनी त्यहाँबाट अगाडि बढ्ने क्रममा कोरोनाभाइरसको महामारी आएपछि बीचैबाट फर्किनुपर्यो । टर्कीमा आइसकेपछि महामारीका कारण फर्किन बाध्य भएकी उनले फेरि बेलायतबाटै काठमाडौंसम्म आउनका लागि दौड सुरु गरेकी छिन् ।

७४ वर्षकी रोजी स्वेल पोपले गएको जुन २५ मा काठमाडौं आउनका लागि दौड सुरु गरेकी थिइन् । उनी १–२ दिनमै बेलायतको समुद्री सीमा ग्रिम्स्बी पुग्ने जीआइ मिडियाले जनाएको छ । उनले बेलायतबाट नेपालसम्म आइपुग्न ८ हजार ५ सय किलोमिटरको यात्रा पूरा गर्नुपर्नेछ । उनी २ महिनापछि अक्टोबर २ मा ७५ वर्षकी हुँदैछिन् । उनले बेलायतको ब्राइटनबाट सुरु गरेको दौड नेपालको काठमाडौं आएर समाप्त हुनेछ ।

यी वृद्धा अनुभवी म्याराथन धावक हुन् । उनले आफ्नो लागि अत्यावश्यक सामग्री र सुत्ने व्यवस्था समेत भएको एक किट साथमा लिएर दौडिइरहेकी छिन् । उनको यो किट एउटा कार्टको रुपमा छ जसमा पाङग्रा जडान गरिएको छ । आइस चिक नाम दिइएको यो किट कार्ट उनले कम्मरमा बाँधेर तान्दै दौडिइरहेकी छिन् । यसअघि उनले काठमाडौं आउन दौड सुरु गरेर ३ हजार किलोमिटर दूरी पार गरिसकेकी थिइन् तर महामारीका कारण उनी बीचैबाट फर्किनुपरेको थियो ।

अहिले पुनः दौड सुरु गरेर बेलायतको पूर्वी समुद्री सीमामा आइपुगेकी उनले त्यहाँबाट समुद्रमा एउटा डुङ्गामा यात्रा गर्नेछिन् र त्यो डुङ्गामा नेदरल्याण्डसम्म पुग्नेछिन् । जमिनमा पुगेपछि उनले पुनः दौड सुरु गर्नेछिन् र नर्वेको बर्गनतर्फ जानेछिन् । त्यसपछि उनी रुस, चीन हुँदै काठमाडौं आउनेछिन् । नेपालको दुर्गम क्षेत्रका जनतालाई सहयोग जुटाउन यसरी दौडिन लागेकी रोजीले ५ हजार पाउण्ड सहयोग जुटाउने लक्ष्य राखेकी थिइन् । तर, यो समाचार तयार पार्दासम्म ४ हजार २ सय ८५ पाउण्ड उठाइसकेकी छिन् र उनी काठमाडौं आइपुग्दासम्म यो रकम कैयौं गुणा बढी हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *