कसिलो कपडा लगाएको आरोपमा २१ वर्षकी युवतीको हत्या
काठमाडौं। कसिलो कपडा लगाएको आरोपमा २१ वर्षकी एक युवतीको हत्या गरिएको छ । ती युवतीलाई कसिलो कपडा लगाएको र बाहिर हिँड्दा साथमा कोही पुरुष आफन्तको साथमा नहिँडेको भन्दै मारिएको हो । अमेरिकी र नाटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा कब्जा जमाउन प्रयासरत मुस्लिम अतिवादी समूह तालिबानले यी युवतीको यसरी ‘मृत्युदण्ड’को नाममा हत्या गरेको हो । तालिबानले आफ्नो नियन्त्रणसँगै अफगानिस्तानका ३ प्रान्तमा शरिया कानुन लागू गराइसकेको छ ।
तालिबानले अफगानिस्तानमा नियन्त्रण बढाउँदै जाँदा आफू नियन्त्रित क्षेत्रमा महिलाहरुलाई एक्लै घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् । यी युवतीलाई ालिबान अतिवादीहरुले समर कान्दियान गाउँमा गोली हानी हत्या गरेको द सनमा प्रकाशित समाचारमा जनाइएको छ । तालिबानले यो गाउँ अगस्ट ३ मा नियन्त्रणमा लिएका थिए । पुलिस प्रवक्ता आदिल शाह आदिलले रेडियो आजादीसँग कुरा गर्दै पीडित युवतीको नाम नजनीन भएको र उनी २१ वर्षकी भएको बताए ।
यी युवती घरबाट निस्किएर बल्ख प्रान्तको राजधानी मजार ए शरिफ जानको लागि गाडीमा चढ्न लाग्दा आक्रमणमा परेकी थिइन् । तर, तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने यो आक्रमण आफ्नो समूहले नगरेको दावी गरे । १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहेका बेला तालिबानले छोरीहरुलाई स्कुल पढ्न र महिलाहरुलाई घरबाहिर काम गर्न प्रतिबन्ध लगाएका थिए ।







डिसी नेपाल







Facebook Comment