ज्येष्ठ नागरिकलाई घरघरमै खोप

डिसी नेपाल
२६ साउन २०७८ ९:४४
352
Shares

बनेपा। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ। अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने “ आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।” उनीलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो। सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उहाँलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए।

नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन्। नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो। नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ।

नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, “कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।” नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ।

आइसोलेसनमा बिरामीको चाप बढ्यो

पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा सङ्क्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.