प्रहरीको प्रश्न पत्र चोरी प्रकरणः प्रि–स्याट परीक्षा रद्द

डिसी नेपाल
२८ साउन २०७८ १८:२१
112
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाने प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको ‘प्रि–स्याट’को परीक्षा रद्द गरिएको छ । दुई साता अघि लिइएको परीक्षमा प्रश्नपत्र ‘लिक’ भएपछि सो परीक्षा रद्द गरी अर्को परीक्षा लिनका लागि मिति तोक्ने तयारी गरिएको छ ।

साउन १५ र १६ गते चार सिफ्टमा आन्तरिक रुपमा प्रि–स्याटको परीक्षा अहिलेका लागि रद्द गरिएको छ अब अर्को मिति चाडै तोकिनेछ ।
प्रश्नपत्र लिक भएको विषयमा डिआइजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनेको थियो । सो समितिले प्रश्नपत्र लिक भएको पुष्टि गरेसँगै यसअघि लिइएको परीक्षा रद्द गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको युएन शाखाले साउन १५ र १६ गते चार सिफ्टमा आन्तरिक रुपमा प्रि–स्याटको परीक्षा लिएको थियो । उक्त परीक्षा अगावै सबै सिफ्टको प्रश्नपत्र चोरी भएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सम्पूर्ण परीक्षा रद्द गरिएको जानकारी गराएको छ ।
छानबिनका क्रममा युएन शाखाका परिचर सुरेश बमले प्रि–स्याटको प्रश्नपत्र चोरी गरेका थिए ।

उनले परीक्षा अगावै चोरी गरेको पाइएपछि छानबिन समिति बनेको थियो । उनले साइबर ब्यूरोमा कार्यरत रहेका हवल्दार कुमार शाहको योजनामा प्रश्नपत्र चोरी गरेको बयान दिएका थिए । चोरीमा प्रत्यक्ष संलग्न भएको आरोपमा बम र शाहसँगै सई जनक थापालाई समेत सेवाबाट बर्खास्त गर्नुपर्ने सुझाव दिइएको छ ।

भाइबर, म्यासेन्जर, ह्वाट्एप लगायत गरी विभिन्न सामाजिक सञ्जाल र भेटेर दिइएको गरी १९९ जनासँग प्रश्नपत्र पुगेको थियो । जसमा ३५ जना मध्ये २४ जनालाई भने सामान्य सचेत गराउन सिफासि गरिएको छ । ३५ जना मध्ये बाँकी ११ जनालाई भने विभागीय कारबाहीदेखि बर्खास्तसम्मका लागि सिफारिस गरिएको छ । युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, परीक्षा सञ्चालन समितिका एसपी बेद विष्ट, इन्सपेक्टर इश्वरी भण्डारीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ । उनीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष समितिको छ ।

त्यसैगरी, डीएसपी रुपेश खड्का, डीएसपी सुगन्ध श्रेष्ठ, इन्सपेक्टर दिलिप क्षेत्री, सई केदार तिमल्सिना, सई सुनिल भण्डारी, सई केशव कार्की, असई अशोक कार्की, जवान सुनिता नेपालीलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.